विस्थापन भएको शाखा पुन: उद्घाटन गर्दै अर्थ मन्त्रीले भने : वित्तीय पहुँच बिस्तारमा बैंकहरु लाग्नु पर्छ



बागलुङ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको आज एक समारोहबीच उद्घाटन गरे । उक्त शाखा सशस्त्रद्वन्द्वमा विस्थापन भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री महाराले मुलकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा जोड दिए ।

नागरिकको घर–घरमा बैंकिङ सेवा पुग्नुपर्ने बताउँदै महाराले भने ‘नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ ।’ मुलुकको आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय संस्था महत्वपूर्ण आधार हुन्’ विगतको द्वन्द्वले बन्द हुन पुगेका सबै वित्तीय संस्थालाई पुनःस्थापना गरिने स्पष्ट पारे ।

बैंकको आफ्नै पुरानो भवन जीर्ण भएकोले तत्कालका लागि भाडाको घरबाट सेवा सञ्चालनमा ल्याइएको छ । बैंकले बचत सङ्कलन, कर्जा प्रवाह, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विप्रेषण लगायतका सेवा प्रवाह गरिरहेको शाखा प्रबन्धक लक्ष्मण रखालले जानकारी दिए ।

विस्थापित बैंक पुनः खुलेपछि स्थानीवासी उत्साहित बनेका छन् । बैंक सञ्चालनसंगै विकास योजनाको रकम, कर्मचारीको तलब भत्ता, निवृत्तिभरण लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अब हटेको छ ।

उक्त शाखाबाट गलकोट भेगका दर्जन भन्दाबढी गाविसले प्रत्यक्ष लाभ लिनेछन् । २०३३ सालमा स्थापना भएको शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएका थिए ।

रासस


क्लिकमान्डु