तपाई थाहा छ रोलेक्स घडी कस्तो बिशेषताले संसारमै चर्चित बन्यो




जसरी महिलको सौन्दर्य सुन, चाँदी, हिरा र मोतीका गरगहनामा खुल्छ, त्यसैगरी पुरुषको ब्यक्तित्व घडिमा भुल्किन्छ भनिन्छ ।

यसैकारण होला संसारका बिभिन्न क्षेत्रका चर्चित पुरुषहरु कुन ब्राण्ड वा मोडलको घडी बाध्छन् भन्ने कुरा चर्चाको बिषय बन्ने गरेको छ ।

अझ घडीका कुनै–कुनै ब्राण्ड त बिलासिता, रवाफ र प्रतिष्ठाकै बिषयसमेत बन्ने गरेको छ ।

बिश्व बिख्यात म्यागजिन फोब्र्सको संसारका सबैभन्दा महत्वपूर्ण ब्राण्डहरुको सूचीको ६४ औं नम्बरमा परेको रोलेक्स घडी एउटा त्यस्तै ब्राण्ड हो ।

रोलेक्स एसए नाम गरेको बिलासी स्विस घडी निर्माता कम्पनीले बनाउने रोलेक्स घडी सन् १९०५ देखी लन्डनमा बनाउन शुरु गरिएको थियो । तर, सन् १९१९ देखि यो घडीको उत्पादन स्वीट्जरल्याण्डबाट गर्न थालिएको थियो ।

हान्स विल्सडोर्फ फाउन्डेसनको स्वामित्वमा रहेको यस कम्पनीले कर्पोरेट कर तिर्दैन । किनकि यो घडी निर्माता कम्पनीको मालिक नाफामुलक कम्पनी होइन । फाउन्डेसन हो । जसले कर तिर्नुपर्देन ।

यो फाउन्डेसन स्थापनाको पनि रोचक प्रसंग छ । हान्स विल्सडोर्फको श्रीमतीको सन् १९४४ मा निधन भयो । हान्सले सोभन्दा अगाडि नै रोलेक्स एसए कम्पनी स्थापना गरिसकेका थिए । तर श्रीमती मरेपछि उनले आफ्नो नाममा फाउन्डेसन खोली सो कम्पनीलाई फाउन्डेसन मातहत ल्याएका थिए ।

रोलेक्स एसए कम्पनीले कमाएको नाफाको ५० प्रतिशत रकम फाउन्डेसनले परोपकारी कार्यमा खर्च गर्छ भने बाँकी ५० प्रतिशत नाफा रकम सोही कम्पनीमा थप लगानी गरिन्छ । यो फाउन्डेसनले उपरोपकारी काम के कस्ता गर्छ र कहाँकहाँ गर्छ भन्ने गोप्य रहन्छ । जुन फाउन्डेसन आफै पनि सार्बजनिक गर्दैन ।

२ हजार जना कामदार कार्यरत रहेको यो कम्पनीले अहिले पनि हातैले रोलेक्स घडी बनाउने गर्छ । अर्थात रोलेक्स घडी बनाउन विषेश गरेर मेसिनको प्रयोग हुदैन । हुदै नहुने भने होइन । केही मेसिनको प्रयोग गरिए पनि मजदुरका हातहरुको कडा मेहेनत पर्ने गरेको छ ।

धनाड्य पुरुषहरुको हातको शोभा बन्नु अघि यो घडीलाई हावा र पानी प्रुफ छ कि छैन भनेर जाँच्न ३०० मिटर पानीको गहिराई र तिब्र हावाको प्रवाहमा राखिन्छ ।

यस्तै, धातुको प्रयोगमा पनि रोलेक्स निकै आक्रामक छ । यसमा क्रोमियम र निकेलको मात्रा बढि भएको अत्यन्तै महङ्गो र गुणस्तरीय धातुको प्रयोग गरिन्छ ।

रोलेक्स घडी संसारको सर्बाेच्च चुचुरो सगरमाथा र महासागरको सबैभन्दा गहिराइमा लैजादा एक सेकेण्ड पनि ढिलो चाँडो हुदैन ।

सर एडमण्ड हिलारीले सन् १९५३ मा संसारकै सर्बाेच्च शिखर सगरमाथाको चुचुरोमा पुग्दा यो घडी बाँधेका थिए । यस्तै सन् १९६० मा अमेरिकी जलसेना नेभीले महासागरको ३६ हजार ७ सय ९८ फिट गहिराइमा जाँदा पनि यो घडी लगिएको थियो । दुबै ठाउमा यो घडीले समयमा एक सेकेन्ड मात्रै पनि फरक परेन ।

रोलेक्सको अर्को रोचक तथ्य के हो भने यसका कारण एकपटक हत्यारासमेत पत्ता लागेको थियो । अल्बर्ट वाकर नाम गरेका एक ब्यक्तिले आफ्नो पार्टनरलाई मारे । तर उनले आफ्ना साथीको हातको रोलेक्स घडी लगेनन् ।

वाकरको ठूलो गल्ती साथीलाई मार्नु त थियो नै तर गल्ती छोप्नको लागि साथीको नाडीको घडी नलानु सबुद छोड्नु जस्तै भयो । साथी मारेर पानीको ढल फालेको २ हप्तापछि मृतकको शरिरमा चिन्न सकिने एउटै बस्तु थियो, त्यही रोलेक्स घडी । जसको कारण हत्यारा पत्ता लागेको थियो ।

यो बिलासी घडी चर्चित फुटबलर डेविड बेकह्याम, महान गल्फर टाइगरउड्स, दुनियाकै सेयर बादशाह वारेन बफेट जस्ता हस्तीहरुले समेत लगाउने गर्छन् ।

रेएन हेइन्सले लेखेको ‘भिन्टेज रिस्टवाचेस’ नामक किताबका अनुसार रोलेक्स घडीहरुको मुल्य ६ सय ५० अमेरिकी डलरदेखि ७५ हजार डलरसम्म पर्छ ।


क्लिकमान्डु