कालीगण्डकीबाट अवैधरुपमा गिटी बालुवा उत्खनन्



पर्वत । कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ ।

प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनको नियन्त्रण गर्न सकेको छैन् । दैनिकजसो नदी गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ ।

पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै सञ्चालनमा रहेका क्रसर उद्योगले मध्यरातमा उत्खनन गर्न थालेका हुन् । वर्षायाममा रोकिएको उत्खनन कार्य नदीमा पानीको बहाव रोकिएलगत्तै पुनः सुरु भएको छ ।

जिल्ला विकास समितिले दिएको मापदण्डविपरीत नै हुने गरी कालीगण्डकीको बहाव परिवर्तन गरेर दैनिकजसो बालुवा, ढुङ्गा र गिटी उत्खनन गर्न थालेपछि स्थानीयवासीसमेत समस्यामा परेका छन् । जिविसले चालु आवका लागि कुल रु ७५ लाख २० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

दिनमा प्रहरी प्रशासनको आँखा छल्नका लागि मजदुरमार्फत खनिएको जस्तो देखाए पनि मध्यरातमा डोजर र एक्साभेटर लगाएर दोहन भइरहेको स्थानीयवासीले बताएका छन् । गत वर्ष पनि यसरी नै दोहन भए पनि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि रोकिएको थियो ।

जिविससँग ठेक्का सम्झौता भए पनि सम्झौताविपरीत उत्खनन गरेको पाइएको स्वयम् जिविसले नै स्वीकार गरेको छ । स्थानीयवासीले रातिको समयमा उत्खनन गर्दा आसपासमा बसोबास गर्न समस्या भएको र सोही कारण वर्षायाममा पनि झन जोखिम बढ्ने भएकाले तत्काल नियन्त्रण गर्न माग गरेका छन् ।

क्षेत्रीय प्रशासक खगराज बरालले केही समयअघि रातिमा कालीगण्डकी दोहन गरेको गुनासो आएपछि स्थानीय प्रशासनलाई तत्काल रोक्न निर्देशन दिएको बताए ।

प्रजिअ शम्भुप्रसाद मरासिनीले जिविस, प्रहरी र प्रशासनको टोलीले अनुगमन गरेको र जिविससँग भएको सम्झौताविपरीतका कार्य भएको पाइएमा आवश्यक कारबाही गर्न भनी जिविसलाई निर्देशन दिएको बताए ।

रातभरि डोजर लगाएर उत्खनन गर्ने, दिउँसो केही मजदुर लगाएर थुप्रो बनाएजस्तो गर्ने र पुनः रात परेपछि डोजर र ट्रिपरको सहायताले उत्खनन गर्ने कार्य भइरहेको स्थानीयवासी रेशम मल्लले जानकारी दिए ।

क्रसर व्यवसायी रामकृष्ण मल्लले जिविससँग सम्झौता भएबमोजिम नै ढुङ्गा, बालुवा, गिटी निकालेको बताए । जसले ठेक्का लिएका छन्, उसैले आफ्नै क्रसर उद्योगसमेत सञ्चालन गरेर विगत केही वर्षदेखि दोहनको शृङ्खला सञ्चालन गरेका छन् । रासस