बैरीताल पुल निर्माण सम्झौताको समय सकियो पुल निर्माण भएन, निर्माण व्यवसायी फरार



जाजरकोट । भेरी नदीको चिसापानीस्थित बैरीताल पुलको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेकोे छ ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ, छेप्काबीच भेरी नदीमा बन्ने सो पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको हो ।

हालसम्म नदीको दुवै तर्फका पिल्लर समेतको निर्माण पूरा भएको छैन । पुलको पिल्लर आधा मात्र उठाएर काम रोकिएकै दुई वर्ष भएको छ । पुलको स्ल्यापलगायत निर्माण कार्य सुरुवात समेत हुन सकेको छैन ।

तीन वर्षअघि आशिष निर्माण सेवा काठमाडौँले पुल निर्माणको जिम्मा लिएको थियो । आठ करोडको लागतमा निर्माण हुने ६६ मिटर लामो पुलको निर्माण अवधि गत मङ्सिर पहिलो साता नै सकिएको सडक डिभिजन चौरजहारीले बताएको छ ।

सम्झौता भएको मितिले पुल निर्माणका लागि सम्बन्धित कम्पनीलाई ३६ महिना म्याद हुने डिभिजन कार्यालय चौरजहारीले बताएको छ । चालु आर्थिक वर्ष पुलको निर्माणसम्बन्धी कुनै पनि प्रगति नभएको पाइएको डिभिजन कार्यालयको भनाइ छ ।

निर्माण कम्पनीले पुल निर्माणमा प्रयोग हुने उपकरण अन्यत्रै लगेर गएकाले निर्माण कार्य रोकेको शङ्का स्थानीयवासीले गरेका छन् । निर्माण व्यवसायीले हचुवाका भरमा टेन्डर हाल्ने र सम्झौता गर्ने अनि पेस्की लिएपछि काममा आलटाल गर्ने प्रवृत्ति मौलाएको स्थानीयवासीको आरोप छ ।

सम्झौता अनुसारको म्याद सकिएको भए पनि पुलको पिलर समेत बन्न सकेको छैन । पुल निर्माण ढिलाइ हुँदा जाजरकोट–डोल्पा सडक, नलसिंहगाड जलविद्युत् लगायतका आयोजना निर्माणमा बाधा पुगेको छ ।

समयमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावत र दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समेत समस्या भएको लहँका गणेशप्रसाद सिंह बताउँछन् । सो पुलको निर्माणमा गिट्टी, बालुवा, सिमेन्ट, छडलगायत कमसल सामग्रीको प्रयोग भएको सिंहले बताए ।

व्यवसायीले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेकोे स्थानीय हरिबहादुर खत्रीको पनि सहमति रहेको छ । पुल निर्माणको ढिलाइले बारेकोट, दल्ली, लहँ, रग्दा भगवती र डोल्पाका लगायतका बासिन्दालाई आवतजावतमा समस्या भएको खत्री बताउँछन् ।

यस क्षेत्रमा निर्माण हुने भौतिक संरचनाको सामग्रीसमेत लान निकै समस्या भएको छ । पुल नबन्दा जाजरकोट–डोल्पा सडकभित्र निर्माण हुने सहायक तथा मुख्य दर्जनौँ पुल निर्माणमा पनि समस्या भएको छ । रासस


क्लिकमान्डु