क्यान ईन्फोटेक माघ १३ गतेदेखि शुरु



काठमाडौं । क्यान महासंघले नियमितरुपमा आयोजना गर्ने क्यान ईन्फोटेक यस वर्ष माघ १३ गते देखि शुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको उक्त प्रदर्शनी माघ १८ गतेसम्म हुने क्यान महासंघले जानकारी दिएको छ ।

क्यानले पत्रकार सम्मेलन गर्दै दिएको जानकारीअनुसार विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २३ औं संस्करण हो ।

प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउने क्यानको भनाई छ । मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने छन । साथै अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद गर्न पाउने छन् ।

क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु रहेको तथा एशोसिएट प्रायोजक सामसुङ रहेको हुँदा मेलाको नाम नै “सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” राखिएको छ ।

“सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेको तथा ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेको क्यानले जानकारी दिएको छ ।

यस पटक ४,००,००० भन्दा बढी अवलोकन कर्ताहरु आउने अपेक्षा गरिएको छ । मेला अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००/– र विद्यार्थीहरुलाई रु ५०/– तोकिएको छ भने माघ १६ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ ।

सुविसुले आफ्नो ग्राहकहरुलाई विभिन्न सेवाहरु डिजिटल टिभी सेवा र ब्रोडब्याण्ड इन्टरनेट सेवा सम्बन्धी जानकारी प्रदान गर्ने छ भने एशोसिएट प्रायोजक सामसुङले नेपालका लागि विशेष फिचर र डिजाइन भएका विभिन्न फोनहरु प्रदशन गर्ने छ र मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले सि नाइन प्रो र ए सेभेन २०१७ मोडलका फोनहरु प्रदर्शनमा राख्नेछ । त्यस्तै नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ फोरजी प्रदर्शनीमा प्रदर्शन गर्ने छ ।


क्लिकमान्डु