घट्दो र बढ्दो बजारमा यसरी किन्नुस सेयर, जसले बढे पनि वा घटेपनि फाइदा दिन्छ




बुल र बियर मार्केट बजारको ट्रेण्डलाई जनाउने शब्द हुन् । बढ्दो बजारलाई बुल बजार भन्ने चलन छ भने घट्दो बजारलाई बियर भनिन्छ । साथै, बजार लगानीकर्ताको मानसिकताको पनि प्रतिबिम्ब भएका कारण बुल र बियरले लगानीकर्ताको मानसिकताको संकेत पनि दिन्छ ।

बुलले बजारको केही हदसम्म दिगो बढोत्तरीलाई जनाउछ । जुन समयमा लगानीकर्ता बजार लामो समयसम्म बढ्नेमा ढुक्क हुन्छन् । त्यस्तै, बियर बजारले निरन्तर रुपमा घट्दो बजारलाइ इंगित गर्छ । जुनबेला लगानीकर्ता पनि बजार तत्काल बढ्दैन भन्ने बुझाइमा हुन्छन् ।

कसरी शुरु भयो बुल र बियर ?
अमेरिकाका घोडचढीहरुले रमाइलोको लागि साँडे र भालु जुधाउथे । ती लडाँइमा भालुले तल पछार्न खोज्ने र साँडेले माथि हुत्याउन खोज्ने हुन्थ्यो । कालान्तरमा बजारको झर्ने र माथि चढ्ने ट्रेण्डलाई पनि सो लडाँइको प्रवृतिसँगै दाँजेर झर्दै गरेको बजारलाई बियर र उक्लदै गरेकोलाई बुल भन्न थालियो ।

बुल र बियर बजारको चरित्र
बुल र बियर बजारलाई सामान्यतः बढ्दो र घट्दो बजारका रुपमा बुझिए पनि यिनीहरुका अरु पनि चारित्रिक बिशेषता हुन्छन् । जस्तोः
१. सेयरको माग र आपुर्तिः बुल बजारमा सेयरको माग बढि हुने गर्छ भने आपुर्ति कमजोर । लगानीकर्ता सेयर किन्न हौसिरहेका हुन्छन् । तुलनात्मक रुपमा थोरै मात्र बेच्नका लागि बजार पस्छन् । बियर बजारको हकमा भने ठ्याक्कै उल्टो हुन्छ ।

त्यस्तै, बियरिस बजारमा आफ्नो अवस्था हेरेर राम्रा कम्पनीको सेयर किन्नु पर्छ । बेच्न हुँदैन । किनभने बेचियो भने घाटा हुन सक्छ । तर बेचिएन भने कागजी घाटा मात्र हुने हो । जसको कुनै अर्थ हुँदैन । अर्को बुलमा सो कागजी घाटा नाफामा बदलिन्छ ।

मुल्य पनि माग र आपुर्तिले नै निर्धारण गर्छ । अर्थात, माग बढि हुँदा मुल्य बढ्छ भने माग घट्दा मुल्य पनि घट्छ । अझ सोझो अर्थमा भन्दा घट्दो बजारमा किन्ने मान्छे कम हुन्छन्, सेयर मूल्य कम भइरहेको हुन्छ । बढ्दो बजारमा सेयर किन्ने मान्छे धेरै हुन्छन् र मूल्य पनि बढ्दो क्रममा हुन्छ ।

२. लगानीकर्ताको मनोबिज्ञानः लगानीकर्ताको मनोबिज्ञान बजार बढ्ने र घट्ने प्रमुख कारणमध्ये एक हो । लगानीकर्ताको मनोबिज्ञान र बजारको प्रदर्शन एक आपसमा सम्बन्धित हुन्छ । बुल बजारमा लगानीकर्ताको मनोबिज्ञान आत्मबिश्वासी हुन्छ भने बियर बजारमा आत्मबिश्वास कमजोर हुन्छ ।

३. आर्थिक क्रियाकलापमा परिवर्तनः बजारमा खरिद बिक्री हुने सेयर बृहत्तर अर्थतन्त्रको एक हिस्सा भएका कारण सेयर बजार र अर्थतन्त्रको गहिरो सम्बन्ध हुन्छ । बुल बजारमा लागानीकर्तासँग खर्च गर्ने पैसा, चाहना र तत्परतासमेत बढि हुने हुँदा अर्थतन्त्र चलाएमान हुन्छ । यस्तै बियर बजारमा ठिक उल्टो कारणले गर्दा अर्थतन्त्र संकुचित हुन्छ ।

कसरी थाहा पाउने बजार ट्रेण्ड ?
बजार ट्रेण्डको आंकलन गर्न लामो अबधिको मुल्यांकन गर्नु पर्ने हुन्छ । कुनै घटना बिशेषका कारण बजारमा आउने उतारचढावका आधारमा बजार ट्रेण्डको आंकलन गर्न सकिंदैन । सानो उतारचढाव छोटो ट्रेण्ड वा मार्केट करेक्सन हुन सक्छ ।

उदाहरणको लागि दुई तीन हप्ता बियरिस (घट्दो) ट्रेण्डमा रहेको बजार बिगत दुई बर्षदेखि बुलिस (बढ्दो) ट्रेण्डमा उक्लिरहेको हुनसक्छ ।

सामान्यतः प्रायजसो सुचकहरु १५ देखि २० प्रतिशत भन्दा बढि घटबढ भएको छ भने बजारले ट्रेण्ड परिवर्तन गरेको भन्न सकिन्छ । र, परिवर्तित ट्रेण्ड जारी रहेमा बदलिंदो बजारको परिस्थितिमा लगानीकर्ताले सोही अनुसार आफ्ना निर्णय गर्न थाले भन्ने मान्नुपर्ने हुन्छ ।

कुनै कुनै अवस्थामा बजार कुनै पनि दिशामा नगइ स्थीर पनि रहन सक्छ । यस्तोमा सानो घटबढ साफानाफा मै रहन्छ ।

बुल र बियर बजारमा कस्तो निर्णय गर्ने ?
पक्कै पनि बजार बढ्न वा घट्न थाल्ने बित्तिकै ठ्याक्कै टे«ण्ड पक्रनु र उच्चतम बिन्दु पत्ता लगाउनु सहज बिषय होइन । तर पनि बढ्दो बजारबाट नाफा कमाउन र घट्दो बजारमा नोक्सान कम गर्दै राम्रा कम्पनीको सेयर किन्दै अर्को बुलको लागि तयार बस्न केही रणनीति भने अवश्य नै लगाउन सकिन्छ ।

सामान्यतः छोटो समयको लागि सेयर किनेको हो भने आफुले किनेको सेयरमा १० प्रतिशत भन्दा बढी नाफा हुन थाल्यो भने बिस्तारै बेच्न शुरु गर्दा हुन्छ । तर, बेच्दा चरणबद्ध रुपमा बेच्नु पर्छ । एकैचोटी बेच्नु हुँदैन । एकैपटक बेचियो भने बढ्दो वा बुल बजारबाट नाफा लिन सकिदैंन ।

त्यस्तै, बियरिस बजारमा आफ्नो अवस्था हेरेर राम्रा कम्पनीको सेयर किन्नु पर्छ । बेच्न हुँदैन । किनभने बेचियो भने घाटा हुन सक्छ । तर बेचिएन भने कागजी घाटा मात्र हुने हो । जसको कुनै अर्थ हुँदैन । अर्को बुलमा सो कागजी घाटा नाफामा बदलिन्छ ।

तर, बियर बजारमा पनि सेयर किन्दा एकैपटक किन्न हुँदैन । माथि उल्लेख गरिएझैं बुल र बियर दुवै ट्रेण्ड लामो समयको लागि हो । त्यसैले आफुले किन्ने सेयर घट्दो बजारसँगै चरणबद्ध रुपमा किन्दै जानुपर्छ । र, ठूलो संख्यामा भने बजार धेरै तल आइसकेपछि किन्नु पर्छ । एकैपटक किनियो भने घट्दो बजारको फाइदा लिन सकिंदैन । यसरी किन्दा घट्दो बजारबाट समेत फाइदा लिन सकिन्छ । साथै, जोखिम पनि न्यून ।

अन्तमा, बजार ट्रेण्ड सहजै आंकलन गर्न सकिने कुरा नभएको हुँदा लगानीकर्ता आफुले लगानी गर्ने कम्पनीको गुणमा नै ज्यादा भर पर्नु पर्छ । र, बजार लामो समयमा बढ्छ नै भन्ने कुरामा भने ढुक्क भए हुन्छ ।


क्लिकमान्डु