धमाधम झोलुङ्गे पुल निर्माण हुँदै, रुकुममा दुई करोड लागतमा आठवटा पुल निर्माण



रुकुम । पहाडी जिल्ला रुकुममा गत आवमा मात्र आठवटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् ।

जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविसलगायतका निकायको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन् ।

सरकारले तुइनलाई विस्थापित गरेर सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम सुरु गरेपछि जिल्लामा गत आवमा मात्र आठवटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला विकास समिति रुकुमले जानकारी दिएको छ ।

जिल्लाका विभिन्न ठाउँमा रहेका खोलामा पुल निर्माण भएपछि यहाँका सर्वसाधारणलाई आवतजावत गर्न निकै सहज भएको छ । योसँगै जिल्लामा अहिलेसम्म ९० वटाभन्दा बढी झोलुङ्गे पुल निर्माण भइसकेको र १२ वटाभन्दा बढी पुलको निर्माण कार्य सुरु भएको जिल्ला विकास समिति रुकुमका सूचना अधिकारी चिन्तामणि दाहालले जानकारी दिए ।

सरकारले खोलामा रहेका तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएसँगै जिल्लामा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमले प्राथमिकता पाएर तीव्र गतिमा पुल निर्माण कार्य भइरहेका छन् ।

झोलुङ्गे पुल निर्माण भएपछि विशेष गरेर महिला, बालबालिका, वृद्धवृद्धालगायतलाई आवतजावत गर्न सहज भएको छ । विद्यार्थीलाई विद्यालय जान, किसानलाई घाँसदाउरा ल्याउन पनि सहज भएको स्थानीयको भनाइ रहेको छ । रासस


क्लिकमान्डु