विद्युत खरिदमा ‘टेक अर पे’ प्रावधान लागू गर्न इप्पानको माग



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ –इप्पानले विद्युत खरिद ‘पिपिए’मा ‘टेक अर पे’को प्रावधान लागू हुनुपर्ने माग गरेको छ । संघमा नयाँ नेतृत्व छनौट भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा संघका अध्यक्ष शैलेन्द्र गुरागाईँले टेक अर पे अर्थात लेउ र तिर भन्ने प्रावधान लागू नहुँदा वित्तिय व्यवस्थापनमा समस्या भएको बताए । उनले टेक एण्ड पे प्रावधान हटाएर टेक अर पेको प्रावधान लागू गर्न माग गरे । ‘आजै उर्जा मन्त्रीले टेक एण्ड पेको प्रावधान हटाएको घोषणा गरेको सुनिएको र यो खारेज भएको भए तत्काल व्यवहारमा लागू हुनुपर्दछ,’ उनले भने ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले भूकम्पबाट पिडित आयोजनालाई कुनै सुविधा अझसम्म पनि नआएको गुनासो गरे । त्यसैगरी उनले हालको तरलताको अभावले जलविद्युत आयोजनामा लगानीको ब्याज बढेको हुँदा बैंकलाई रि फाइनान्सिंगको लागि रकम उपलब्ध गराउनुपर्ने माग पनि गरे ।

त्यसैगरी संघका उपाध्यक्ष कुमार पाण्डेले हालै आएको नयाँ निर्देशिकाको आधारमा विद्युत विभाग र प्राधिकरणबिच नितीमा भिन्नता हुँदा समास्या उत्पन्न भएको बताए । उनले भने, विभाग र प्राधिकरणबिच नितीगत विवाद हुँदा आयोजनाहरु समस्यामा छन्, यसले रेट अफ रिटर्नमा असर पार्दछ ।

संघले राष्ट्रिय उर्जा संकट निवरण तथा विद्युत विकास दशक सम्बन्धि अवधारणा पत्रका ९९ बुँदा कार्यान्वयन गर्नुपर्न, रु.५० लाख प्रति मेगावाटको मूल्यअभिवृद्धि कर बापतको रकम फिर्ता हुनुपर्ने, साना जलविद्युत आयोजनाको हकमा हाइड्रोलजि पेनाल्टि नहुने व्यवस्था भएपनि व्यवहारमा लागू नभएको हुँदा लागू हुनुपर्ने, वन क्षेत्रको जग्गा लिजको व्यवस्था तथा ७५ रोपनीको हदबन्दी हटाउनुपर्ने । प्रशारण लाइन नहुँदा आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको हुँदा प्रशारण लाइन तथा सबस्टेशनको निर्माण ‘बिल्ड ट्रान्सफर’ मोडलमा हुनुपर्ने, निजी क्षेत्रको संलग्नतामा मात्रै छिमेकी मुलुकसँग पिडिए हुनुपर्ने लगायतका मागहरु गरेका छन् ।


क्लिकमान्डु