६० करोडको ट्रेजरी बिल्स निकाल्दा ३ अर्बको माग




काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता कमी भयो भनिरहेको समयमा राष्ट्र बैंकले जारी गरेको ट्रेजरी विल्समा भने बैंक तथा वित्तीय संस्थाको अत्याधिक आकर्षण देखिएको छ ।

राष्ट्र बैंकले सोमबार निस्कासन गरेको ९१ दिने ट्रेजरी विल्समा अधिक माग भएको छ । राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल्स जारी गरेकोमा ३ अर्ब ३ करोड रुपैयाँ बराबरको माग भएको छ ।

राष्ट्र बैंकले गत शुक्रबार २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । त्यसमा जम्मा १ अर्ब ९० करोड रुपैयाँको मात्रै माग भएको थियो । यस्तै हिजो (आइतबार) १० अर्ब रुपैयाँको रिपो पुन जारी भएको थियो । त्यसमा पनि करिब साढे ३ अर्ब रुपैयाँको मात्रै माग भएको थियो ।

तर सोमबार जारी गरिएको ट्रेजरी बिल्समा भने बैंकहरुको अत्याधिक आकर्षण देखिएको छ । यो अवस्थाले बैंकहरुले भने जस्तो तरलताको कमी भएको हो कि होइन भन्नेमा शंका उत्पन्न भएको छ ।

राष्ट्र बैंकले जारी गरेको रिपो भनेको बैंकहरुले निश्चित प्रतिशत ब्याज तिरेर निश्चित अवधिको लागि सरकारी पैसा चलाउन पाउने हो । ट्रेजरी विल्समा लगानी गर्नु भनेको बैंकहरुले आफूसँग भएको बढी पैसा निश्चित ब्याजमा सरकारलाई दिनु हो ।

राष्ट्र बैंकले जारी गरेको रिपोमा बैंकहरुको आकर्षण नदेखिने र ट्रेजरी विल्समा बढी रकम पर्नुले बजारमा तरलताको अभाब नभएको बरु तरलता बढी भएको पुष्टी हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीको भनाइ छ ।

आजको ट्रेजरी विल्सको बोलकबोल ब्याजदर १.९५ प्रतिशत छ । यस्तै सोमबारकै अन्तर बैंक ब्याजदर ३.७२ प्रतिशत छ ।


क्लिकमान्डु