कावासोतीमा विद्युत् चोरी गर्ने ८६ पक्राउ



नवलपरासी । नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो ।

पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढेपछि प्रहरीको सहयोगमा मानिसलाई समेत नियन्त्रणमा लिन थालिएको नेपाल विद्युत् प्राधिकरण, कावासोती शाखाका प्रमुख उमेशप्रसाद यादवले बताए ।

मानिसलाई नै नियन्त्रणमा लिएर जरिवाना नतिर्दासम्म नियन्त्रणमा राखेपछि चुहावटमा कमी आउनुका साथै मिटरका लागि निवेदन समेत बढेको प्रमुख यादवले जानकारी दिए ।

विद्युत् कर्मचारी, जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले टिभी, पानी तान्ने मोटर, हिटरसहित विभिन्न विद्युतीय सामग्री समेत बरामद गरेको छ ।

यस आवमा मात्र कावासोती वितरण शाखाले एक करोड ३० लाख विद्युत् बक्यौता र १५ लाख विद्युत् चोरीबापत जरिवाना असुल गरेको छ । रासस


क्लिकमान्डु