अब १००, २०० र ५०० ग्रामको टुक्रा सुन पनि आयात गर्न पाइने




काठमाडौं । अब बैंकहरुले साना टुक्रा सुन पनि आयात गर्न पाउने भएका छन् । यसअघि १ केजी दरका टुक्रा मात्रै ल्याउनु पर्नेमा अब भने १ सय २ सय र ५ सय ग्रामको सुन पनि ल्याउन पाइने भएको हो ।

बिहिबार बसेको राष्ट्र बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

‘बैंकहरुले अब १ सय, २ सय र ५ सय ग्रामका टुक्रा सुन पनि आयात गर्न पाउने भए, आज (बिहिबार) को संचालक समिति बैठकले सुन आयात कार्यविधिमा संसोधन गरेर यस्तो ब्यवस्था गरेको हो,’ गभर्नर कार्यालयका निर्देशकसमेत रहेका पण्डितले क्लिकमाण्डूसँग भने ।

सानो टुक्रा सुन पनि बैंकहरुले नै आयात गर्ने हो । सुन ब्यापारीहरुले सानो टुक्रा सुन आयात नहुदा आफूहरुलाई समस्या परेको बताउदै आएका थिए ।

यसरी ल्याउने टुक्रा सुन भने ९९.९ प्रतिशत शुद्ध सुन नै हुनुपर्ने छ । यसअघि आयात हुदै आएको १ केजी दरको टुक्रामा ९९.५ प्रतिशत मात्रै शुद्ध सुन हुन्थ्यो ।

यसअघि ब्यापारीहरुले ९९.५ प्रतिशत शुद्ध सुनलाई नै २४ क्यारेटको शुद्ध सुन भनेर विक्री गर्दै आएका थिए । अब २४ क्यारेटको भनिने सुनमा त्यो भन्दा पनि शुद्ध अर्थात ९९.९ प्रतिशत शुद्ध सुन पाउने भएका छन् ।


क्लिकमान्डु