निजी बैंकलाई पनि बिदेशबाट डलर ल्याउने अनुमति, प्रतिडलर ३० पैसासम्म ढुवानी खर्चवापत लिन पाइने




काठमाडौं । निजी क्षेत्रका बाणिज्य बैंकहरुले पनि बिदेशबाट नगद अमेरिकी डलर ल्याउन पाउने भएका छन् ।

बिहिबार विहान बसेको राष्ट्र बैंक संचालक समिति बैठकले बाणिज्य बैंकहरुलाई बिदेशबाट अमेरिकी डलर ल्याउन दिने निर्णय गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

‘बाणिज्य बैंकहरुले पनि बिदेशबाट नगद डलर ल्याउन अनुमति माग्दै आएका थिए, आज (बिहिबार) बिहानको संचालक समिति बैठकले अनुमति दिएको छ,’ गभर्नर कार्यालयका निर्देशक समेत रहेका पण्डितले क्लिकमाण्डूसँग भने ।

यसअघि नेपालमा अमेरिकी डलरको नगद अभाव भएपनि स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, नविल र नेपाल इन्भेष्टमेन्ट बैंकले विदेशबाट नगद डलर ल्याउने चासो देखाएका थिए । सोही अनुसार बैंकहरुले राष्ट्र बैंकसँग अनुमति पनि मागेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले डलर ल्याउनको लागि निकै चासो दिएको भएपनि राष्ट्र बैंकले बट्टादर फरक पर्न सक्ने भन्दै अनुमति दिएको थिएन । अब भने बैंकहरुले विदेशबाट ल्याएको डलरमा प्रतिडलर ३० पैसासम्म बढी हुने गरी विनिमय दर निर्धारण गर्ने सक्ने अधिकार राष्ट्र बैंकले दिएको छ ।

बैंकहरुले भने विदेशबाट नगद डलर ल्याउदा प्रतिडलर ५० पैसा खर्च लाग्ने भन्दै सो बराबरको बढी रकम लिन पाउनु पर्ने माग गरेका थिए ।

‘विदेशबाट डलर ल्याउदा ढुवानी र बीमा शुल्क अतिरिक्त लाग्छ, यो शुल्क तोकिएको विनियम दरमा थप गरेर लिन पाउनु पर्ने हाम्रो माग थियो,’ डलर ल्याउने तयारीमा रहेका एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले दिएको सीमामा रहेर विनिमयदर निर्धारण गर्दा बिदेशबाट डलर ल्याउन सकिने नसकिने अध्ययन गरेर मात्रै अगाडि बढ्ने उनको भनाइ छ ।

‘हामीले प्रतिडलर ५० पैसा लिन पाउनु पर्ने माग गरेका थियौं, ३० पैसा मात्रै लिन पाइने भएछ, यो खर्चले ल्याउदा घाटा नहुने हो भने मात्रै ल्याउछौं, अध्ययन नगरी अहिले नै अब डलर ल्याउने नल्याउने बारे यसै भन्न सकिएन,’ अर्काे एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु