रेवतबहादुरका २३ काम, जसले पुँजी बजारमा सुधार ल्यायो



काठमाडौं । रेवतबहादुर कार्की धितोपत्र बोर्डको अध्यक्ष रुपमा आएको एक वर्ष पुरा भएको छ । कार्की बोर्ड अध्यक्ष भएर आएपछि सेयर बजारको क्षेत्रमा विभिन्न सुधारहरु भएका छन्

‘नियामकको रुपमा बोर्डले सहजता प्रदान गर्यो, अग्रसरता लियो, सरोकारवाला अन्य पक्षले पनि राम्रो साथ दिए, यसैले बजारमा उत्साह कायम राख्न र सुधार गर्न हामी सफल भयौं,’ अध्यक्ष कार्कीले भने ।

उनले आफूले गरेका सुधारका कामहरुको बेलिबिस्तार यसरी सुनाए ।

१. धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित (फूल अटोमेसन)

नेपालमा धितोपत्रको कारोवार प्रणाली यसअघि नै स्वचालित भइसकेकोमा विद्युतीय नामसारी र राफसाफ सेवाको पूर्ण स्वचालित संचालनको लागि ०७२ माघदेखि सम्पूर्ण सूचिकृत कम्पनीहरुको अभौतिकृत धितोपत्रको मात्र कारोवार हुने गरी पूर्ण स्वचालित सेवा अर्थात कारोवार, नामसारी र राफसाफको स्वचालित संचालन व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन भएसँगै नेपालको धितोपत्र बजार दक्षिण एशियाका अन्य देशको धितोपत्र बजार सरह नै आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ ।

२. दास्रो बजार मुल्य पारदर्शी बनाउन लगानीकर्तालाई बजारको गहिराई हेर्ने व्यवस्था

सम्पूर्ण लगानीकर्तालाई धितोपत्रको माग तथा आपूर्तिको जानकारी लिन सक्ने गरी बजारको गहिराई (मार्केट डेप्थ) हेर्ने व्यवस्था गरिएको छ । यसले लगानीकर्ताहरुलाई आफ्नो खरिद विक्री आदेश के कुन मुल्यमा दिन उपयुक्त हुन्छ, सोमा पारदर्शीता ल्याई बजार कारोवारमा बृद्धि ल्याउन मद्दत गरेको छ ।

३. ब्रोकर शुल्कमा ४० प्रतिशतसम्म र ओटिसी शुल्कमा ९० प्रतिशतसम्म कटौती

विगत ८ वर्षदेखि समान रहेको र दक्षिण एशियामा नै उच्च रहेको नेपालको धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक बनाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को संसोधन गरी ४० प्रतिशतसम्म कटौती गरेको छ । परिणामस्वरुप दोस्रो बजारको लगानीकर्तामा सकारात्मक प्रभाव परी उनीहरुमा एक किसिमको उत्साह थपिएको र दैनिक औसत कारोवारलाई बढाएको छ । साथै ओटिसी बजारको कारोवार शुल्कमा ९० प्रतिशत सम्म कटौती गरिएको छ ।

४. प्राथमिक निष्काशनमा डिम्याट खाता अनिवार्य गरिएको

०७३ श्रावण १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि काठमाडौं उपत्यका बाहिरबाट समेत सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिम्याट खाता दरखास्त फाराममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने तथा सोही खातामा बाँडफाँट भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गर्न सम्पूर्ण मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिइएकोमा काठमाडौं उपत्यकमा कार्यान्वयनमा आइसकेको र माघ १ गतेदेखि उपत्यका बाहिर पनि कार्यान्वयमा आउने क्रममा रहेको छ ।

५. धितोपत्र दर्ता तथा निष्काशन नियमावली-०७३ लागू

धितोपत्र बोर्डले सरकारको स्वीकृतिमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मंसिर १ गतेबाट लागू गरेको छ । यस नियमावलीले धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी भई विगत २५ वर्षदेखि फिक्स्ड प्राइसमा सार्वजनिक निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने व्यवस्था गरेको र यसले फ्रि प्राइसिङमा जानको लागि पूर्वाधार तयार गर्नुका साथै वास्तविक क्षेत्रका कम्पनी भित्र्याउन तथा अन्र्तराष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न संरचनात्मक आधार तयार भएको छ । यसबाट आइएफसी, एडिबी जस्ता अन्र्तराष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने ढोका खुलेसँगै पुँजी बजारको माध्यमबाट पूवार्धार तथा अन्य विकास आयोजना मार्फत नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने वातावरणको सिर्जना भएको छ ।
६. ओटिसी बजारको संचालन

सातवर्षदेखि कारोवार खासै नभएको ओटसी कारोवार नियमित रुपमा हुन थालेको छ । ओटिसी बजार व्यवस्थित गर्न निर्देशित गरे पश्चात् आर्थिक वर्ष २०७२।७३ मा १ करोड २९ लाख १९ हजार ३३१ कित्ता सेयर कारोबार भएको छ ।

७. बोर्डको संस्थागत क्षमता अभिबृद्धि गर्न २७ नयाँ कर्मचारीको नियुक्ति

बोर्डमा १९ अधिकृतस्तर तथा ८ सहायकस्तरका कर्मचारीहरुको नियुक्ति तथा पदस्थापन गरी नयाँ कर्मचारीहरुका लागि पूर्व सेवा तालिम प्रदान गरिएको छ ।

८. थप निष्काशनको मूल्य निर्धारण विधि लागू

थप निष्काशन (एफपिओ) को मूल्य निर्धारण कार्यमा एकरुपता कायम गर्न तथा यसलाई थप व्यवस्थित, स्वच्छ, निष्पक्षी र पारदर्शी बनाउनको लागि पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पत्तिको मुल्य, १८० दिनको औसत बजार मुल्य, भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मुल्य मापदण्ड राखी मुल्य निर्धारणको विधि तथा आधारहरु तयार गरी लागू गरिएको छ ।

९. धितोपत्र निष्काशनलाई सहजीकरण

बोर्डले धितोपत्र निष्काशनको क्रममा गरेको स्थलगत निरीक्षण तथा बोर्डमा प्राप्त भएका गुनासोहरुको आधारमा विभिन्न निर्देशनहरु जारी गरेको छ । यस क्रममा सिडिएस एण्ड क्लियरीङ्गलाई हितग्राही खाता खोल्दा अनिवार्य रुपमा बैंक खाता नम्बर राख्ने व्यवस्था प्रणालीमा तत्काल मिलाउन, मर्चेन्ट बैंकरलाई अर्थतन्त्र र जनसंख्यालाई आधार मानि पर्याप्त मात्रामा संकलन केन्द्रहरु राख्न तथा जेष्ठ नागरिक, महिला अपाङ्गलाई ध्यानमा राखी संकलन केन्द्रमा उपयुक्त व्यवस्था मिलाएको छ ।

हकप्रद सेयर बापत प्राप्त हुने खण्डित सेयरलाई पूर्ण मानी सो व्यवस्था गर्न, हकप्रद सेयर भर्दा भौतिक तथा अभौतिक जुन रुपमा कायम भए तापनि एउटै मात्र आवेदन मार्फत् दरखास्त दिने व्यवस्था गर्न, सार्वजनिक निष्काशनमा चेक लिदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप मात्र क्लियरीङ्ग शुल्क लिन, मर्चेन्ट बैंकले नाफाको निश्चित प्रतिशत कर्मचारीको तालिम तथा विकासमा खर्च गर्न साथै सूचिकृत कम्पनीलाई गाभ्ने-गाभिने कार्य सम्पन्न भई एकिकृत कारोबार शुरु भएसँगै सेयर कारोबार शुरु हुने व्यवस्था गर्न र सो हुन नसकेमा बढीमा १५ अनिवार्य कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

१०. प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निष्काशन गर्दा अपनाउनु पर्ने

प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा एफपिओ निष्काशनको लागि वित्तीय योजना तथा रणनीतिहरु साधारणसभाबाट पारित गराएको हुनुपर्ने, हकप्रद निष्काशनको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, प्राथमिक निष्काशन गरेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने, नियमानुसार क्रेडिट रेटिङ्ग गरेको हुनुपर्ने, जारी पूँजी शत प्रतिशत चुक्ता भैसकेको हुनुपर्ने, प्रचलित कानून बमोजिम परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमतिपत्र वा स्वीकृति लिइसकेको हुनुपर्ने, परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्ने, हकप्रद निष्काशन वा फर्दर पव्लिक इस्यूको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना प्रकाशित गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ ।

११. ऐन-नियम पालना नगर्ने ब्रोकरलाई कारवाही

बोर्डले सुपरिवेक्षण कार्यलाई समेत सकृय बनाउँदै लगिरहेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम समयमै विवरण पेश नगर्ने ८ ब्रोकरलाई सात कार्य दिनसम्म धितोपत्रको कारोबार गर्न र ४ मर्चेन्ट बैंकरलाई सात कार्यदिनसम्म नयाँ सम्झौता र नयाँ कार्य गर्न रोक लगाएको छ । बोर्डको यो कदमबाट संस्थागत सूशासन, पारदर्शिता र अनुशासनपालनामा सुधार ल्याई पुँजी बजारको विकासमा थप टेवा पुग्ने देखिन्छ ।

१२. आस्बा प्रणाली भित्र्याई प्राथमिक बजारमा संरचनात्मक सुधार

सार्वजनिक निष्काशन कार्यलाई थप सरल, व्यवस्थित, पारदर्शी तथा निष्काशन लागतलाई न्यूनीकरण गर्ने उद्देश्यले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका-०७३ बोर्डबाट स्वीकृत भएको छ । हाल धितोपत्र बाँडफाँटको लागि करीब ७० दिन लाग्ने गरेकोमा उक्त कार्य बढीमा २० दिनमा सम्पन्न गर्ने उद्देश्य सहित ‘एकाउन्ट सर्पोटेड बाइ ब्लक्ड अमाउन्ट’ (आस्बा) प्रणाली आगामी माघदेखि स्वैच्छिक रुपमा लागू गर्न सम्पूर्ण मर्चेन्ट बैंकरहरुलाई निर्देशन जारी गरिएको छ । हालसम्म ११ वटा बैंक तथा वित्तीय संस्थालाई निर्देशिकाको व्यवस्था अनुरुप सूचिकृत गरिएको छ ।

१३. बजार सुधारको लागि विभिन्न निर्देशन

सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई उनीहरुले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिई बडापत्रको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

महिला, अपांग, बालबालिका सहितका साना लगानीकर्ताहरुलाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ्ग फ्लोरमा थप ट्रेडिङ्ग विण्डो उपलव्ध गराउने व्यवस्था गर्न/गराउन निर्देशन दिइएको छ ।

१४. सार्वजनिक निष्काशन आवेदन प्रक्रियामा तेश्रो व्यक्तिको प्रयोग निरुत्साहित

तेस्रो व्यक्तिको प्रयोगलाई निरुत्साहित गरी वास्तविक लगानीकर्ताहरुले बजारबाट फाइदा लिन सकुन भन्ने उद्देश्यले दरखास्तवालाले एकाघर परिवार बाहेक एक भन्दा बढी दरखास्त फाराम समावेश गरी आवेदन दिएको अवस्थामा प्रत्येक दरखास्तावालाले आफ्नै एकाउन्ट पेयी चेक मार्फत रकम जम्मा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

१५. सूचना प्रवाहको सहजीकरण

सूचिकृत संगठित संस्थाहरुले आफ्नो मूल्य संवेदनशील सूचनाहरु नेपाल स्टक एक्सचेन्जलाई तत्काल उपलब्ध गराउनुपर्ने र स्टक एक्सचेन्जले त्यसरी प्रवाह हुने सूचना प्रमाणित गरी एउटै स्ट्याण्डर्ड फम्र्याटमा लगानीकर्ताहरुले सहज रुपमा हेर्न पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

१६. धितोपत्र व्यवसायीको क्षमता अभिबृद्धिका लागि सहजीकरण

धितोपत्र व्यवसायीको सेवामा सुधार तथा कार्य क्षेत्र विस्तारका लागि विभिन्न धितोपत्र व्यवसायीहरुलाई बोर्डको समन्वयमा भारत, बंगलादेश तथा मलेशियाको पुँजी बजारको अध्ययन भ्रमण गराइएको छ । साथै, धितोपत्र व्यवसायीको क्षमता विकास सम्बन्धमा अध्ययन गरी सो अध्ययनको आधारमा ‘निरन्तर व्यवसायिकता विकास’ कार्यक्रमसम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरिएको छ ।

१७. टेस्टेड प्रणाली भित्र्याउन नेप्सेलाई निर्देशन

विश्व पुँजी बजारमा अत्याधुनिक प्रणालीहरु प्रचलनमा आइसकेको अवस्थामा क्रस बोर्डर लिस्टिङ एण्ड ट्रेडिङको व्यवस्था गर्न, गैर आवासीय नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई प्रवेश गराउने विश्वसनीय वातावरण बनाउनको लागि धितोपत्र बजारको कारोवार प्रणालीलाई अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप हुने र टेस्टेड प्रणाली भित्राउनेतर्फ पहल गर्न बोर्डले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।

१८. नयाँ धितोपत्र सूचिकरण विनियमावली पेश गर्न नेप्सेलाई निर्देशन

साविकको धितोपत्र सूचिकरण विनियमावली, २०५३ लागू भएयता लामो समय अन्तराल भई धितोपत्र सम्बन्धी ऐन, २०६३ लागू हुनुको साथै सूचिकृत संगठित संस्थाहरुको पुँजी आधारमा धेरै गुणा बृद्घि भएको, धितोपत्र कारोवार पूर्ण स्वचालित भैसकेको पृष्ठभूमिमा विद्यमान धितोपत्र सूचिकरण सम्बन्धी व्यवस्थाहरुमा समयसापेक्ष सुधार गरी परिवर्तन गर्न अत्यावश्यक भएकोले यथाशिघ्र सूचिकरण सम्बन्धी छुट्टै विनियमावली तयार गरी पेश गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिइएको छ ।

१९. नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा भित्र्याउन पहल

धितोपत्र बजारमा स्थायित्व कायम गर्ने उद्देश्यले नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा दोश्रो बजारमा सहभागिता गराउने सन्दर्भमा प्राविधिक पक्षको अध्ययन कार्य सम्पन्न भएको छ ।

२०. सेटलमेन्ट ग्यारेन्टी फण्ड संचालन गर्न निर्देशन

धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट कार्यलाई व्यवस्थित गर्न तथा लगानीकर्ताहरुको धितोपत्र कारोवारमा विश्वसनीयता अभिबृद्घि गर्न धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को विनियम ४६ बमोजिम कारोवार भुक्तानी सुनिश्चित कोष संचालन गर्नका लागि आवश्यक कार्यविधि तयार गरी बोर्डमा पेश गर्न, क्लियरिङ्ग बैंक थप गर्न,धितोपत्र राफसाफ तथा फछ्र्यौट विनियमावली-०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा टि प्लस टुमा नै पे-इन गर्न लगाउने, टि प्लस थ्रीमा खरिदकर्ताको खातामा धितोपत्र तथा बिक्रिकर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्न र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्गले परिपत्र गरी कडाइका साथ सो को पालना गर्न गराउन सिडिएस एण्ड क्लियरिङ्ग लि.लाई निर्देशन दिएकोमा सो कार्यान्वयमा आइसकेकोछ ।

२१. एनआरएनलाई दोस्रो बजारमा सहभागी गराउन गृहकार्य शुरु

बोर्डले गैरआवसीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा सहभागी गराउने सन्दर्भमा अध्ययन गरी कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न एक समिति गठन गरेको छ ।

२२. रियल सेक्टरलाई भित्र्याउने गृहकार्य

धितोपत्र बजार सम्बद्घपक्ष अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., लगानीकर्ताहरु लगायत सुझावबाट बजार सुधारको नयाँ कायक्रम संचालन गर्ने भएको छ । त्यस्तै बोर्डले नयाँ धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ नेपाल सरकारको स्वीकृतिमा ल्याएको पृष्ठभूमिमा नयाँ धितोपत्र निष्काशन निर्देशिका जारी गर्ने पूर्व सन्ध्यामा वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्न तथा सम्बन्धित क्षेत्रको सुझाव निर्देशिकामा समावेश गर्न वास्तविक क्षेत्रका प्रमुख २ प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका सदस्य संस्थाहरु, एनसेल प्रालि., चन्द्रागिरी हिल्स् लि तथा विभिन्न जलविद्युत, हाउजिङ्ग, लगानी कम्पनीहरु सहित १०० भन्दा बढीको सहभागितामा पहिलो पटक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

२३. लगानीकर्ता प्रशिक्षण कार्यक्रम

देशको बिभिन्न क्षेत्रमा धितोपत्र सम्बन्धी तालिम एवं कार्यक्रम संचालन गरी धितोपत्र सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कार्यलाई व्यापक बनाउने कार्य अन्तर्गत काभ्रपलाञ्चोक, स्याङ्जा, सुर्खेत, कालीकोट र जाजरकोट जिल्लाहरुमा लगानीकर्ता प्रशिक्षण तथा अन्र्तकृया कार्यक्रम आयोजना गरिएकोछ ।


क्लिकमान्डु