विद्युत् चोरीको अभियोगमा २३ जना पक्राउ



झापा । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन् । विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इ राजीवकुमार सिँहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी सहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्स पावरका दुई दुई वटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र घरमा जडित केही थान मिटरसमेत बरामद गरेको छ । अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ ।

रातको समयमा विद्युत् चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सात जनालाई पक्राउ गरी कारबाही गरेको छ । रासस


क्लिकमान्डु