यातायात व्यवस्था कार्यालय ठूलो भर्याङमा



काठमाडौं । स्वयम्भूको ठूलो भर्याङबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी काम सुरु भएको छ ।

यातायात व्यवस्था विभागले आजदेखि ठूलो भर्याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मतीको सेवा विस्तार गरेको हो ।
कार्यालयको उद्घघाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चाबहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने बताए ।

‘एकान्तकुनामा मात्र रहेको बाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सवारी चालक अनुमतिपत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हट्नेछ, कार्यालयका कर्मचारी साथीहरुले समयमै सेवाग्राहीको काम गरिदिएर भिड अन्त गर्नुहुने विश्वास छ’, उनले भने ।

कार्यालयमा सोमबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरण गरिने र एक हप्तापछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख वीरेन्द्र स्वाँरले बताए ।

अनुमतिपत्र लिन सेवाग्राहीको भिड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न तीन महिनाअघि निर्देशन दिएको थियो । निर्देशनानुसार खुलेको सो कार्यालयको मासिक भाडा १ लाख ३९ हजार रुपैयाँ पर्नेछ । चाबहिल र जगातीमा पनि घर भाडामै लिएर कार्यालय खोल्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमतिपत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत लिन सकिने व्यवस्था छ । विभागले एक साताअघिदेखि सवारी चालक अनुमतिपत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुआत गरेको छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको थियो ।


क्लिकमान्डु