अर्थमन्त्रालयले मंसिरमा मात्रै बाँढ्यो ८५ लाख रुपैयाँ आर्थिक सहयोग, यी हुन् सरकारको ढुकुटीबाट रकम पाउने भाग्यमानीहरु




काठमाडौं । अर्थमन्त्रालयले मंसिर महिनामा मात्रै आर्थिक सहयोगको नाममा विभिन्न ब्यक्तिहरुलाई ८५ लाख रुपैयाँभन्दा बढी रकम बाढेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार आर्थिक सहयोग दिने भनिएका ब्यक्तिहरुलाई सरकारले आफ्नो ढुकुटबाट यसरी रकम बाढेको हो ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार मंसिर महिनामा सबैभन्दा बढी रकम पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले पाएकी छन् ।

उनी ब्यवस्थापिका संसदको सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । उनले औषधि उपचारको लागि सरकारबाट ५० लाख रुपैयाँ आर्थिक सहायता पाएकी छन् । गत २८ मंसिरको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार उनलाई सो रकम दिइएको हो ।

यस्तै अघिल्लो बर्ष नै मन्त्रिपरिषदले गरेको निर्णय अनुसार रकम नलिएका बुद्धीसागर उपाध्याय ढुंगानाले पनि गत मंसिरमा सरकारबाट आर्थिक सहायता रकम लिएका छन् । गत बर्षको १४ असोजमा मन्त्रिपरिषद बैठकले उनलाई आर्थिक सहायता दिने निर्णय गरेको थियो । ढुंगानालाई १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

यस्तै गोर्खा जिल्लाको मुच्चोक गाबिस १, राम्चेका उत्तम प्रसाद देबकोटाले सरकारबाट १० लाख रुपैयाँ औषधि उपचारको लागि आर्थिक सहायता पाएका छन् । हाल गोगबुमा बस्दै आएका देबकोटाले आफ्नो छोराको बोनम्यारो प्रत्यारोपण गर्नको लागि सरकारबाट सो रकम पाएका हुन् । उनलाई रकम उपलब्ध गराउने निर्णय २८ मंसिरको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

राज्यकोषबाट तत्कालिन माओवादीको पूर्वसचिब स्वर्गीय पोष्टबहादुर बोगटीको नाममा पनि आर्थिक सहयोग प्रदान गरिएको छ । उनको नाममा खोलिएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । यसरी आर्थिक सहयोग प्रदान गर्ने सम्बन्धि निर्णय मन्त्रिपरिषदको ११ मंसिरमा बसेको बैठकले गरेको थियो ।

आर्थिक सहयोग पाउनेहरुको सुचीमा सरकारी कर्मचारी पनि परेका छन् । सरकारले महालेखा परीक्षकको कार्यालयमा कार्यरत लेखापरीक्षक रमेश पाण्डेलाई औषधि उपचारको लागि ५ लाख रुपैयाँ आर्थिक सहायता गरेको छ ।

यस्तै जिल्ला भूसंरक्षण कार्यालय धनकुटामा कार्यरत सहायक भूसंरक्षण अधिकृत प्रभुनारायण यादबलाई पनि औषधि उपचारको लागि सरकारले ३ लाख ३० हजार रुपैयाँ थप आर्थिक सहायता प्रदान गरेको छ । २८ कात्तिकको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार गत मंसिरमा उनलाई रकम प्रदान गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

सरकारले वाग्लुङ जिल्ला सरकुवा गाविस २ मादीका अमिट केसीलाई ५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । उनीलाई दृष्टिविहिन रुपमा विश्वको सर्बाेच्चा शिखर सगरमाथा आरोहण गर्ने प्रयोेजनको लागि सो रकम उपलब्ध गराइएको हो ।

यस्तै संखुवासभाका प्रकाश कुमार अधिकारीलाई पनि १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । १४ असोजको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार उनलाई रकम प्रदान गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । यो सवै गरेर सरकारले आफ्नो ढुकुटीबाट मंसिर महिनामा मात्रै ८५ लाख रुपैयाँभन्दा बढी रकम आर्थिक सहायता बाढेको छ ।


क्लिकमान्डु