७ अर्ब लागनीमा निर्माण भएको अपर मादीको उत्पादन सुरु




पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।

आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब पाँच अर्ब २८ करोड रुपैयाँ बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण गरिएको यो आयोजनाको लागत बढेर ७ अर्ब पुगेको आयोजनाले बताएको छ ।
आयोजना निर्माण अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेको हो ।

आयोजनामा नेपाली लगानीकर्ता तथा आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानी रहेको छ । २०६९ को पुस महिनादेखि आयोजना निर्माणको सुरु गरिएको थियो ।

आजै योजनाको उद्घाटन ऊर्जामन्त्री जनार्दन शर्माले गर्ने कार्यक्रम राखिएको छ ।


क्लिकमान्डु