थुनेलो रोग निको पार्ने औषधि पहिचान



चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षण गर्दा यो औषधि उपयुक्त ठहरिएको कार्यक्रम प्रमुख डा. माधवप्रसाद आचार्यले बताए ।

अनुसन्धानले अन्य औषधिहरू जस्तै टेटरासाइक्लिन,क्लोरामफेनिकोल,इन्रोफ्लोक्सासिन पनि प्रभावकारी नै देखिए पनि पेनिसिलिन भने न्यून प्रभावकारी देखिएको उनले बताए ।

दुहुना पशुको कल्चौडो र थुनमा समस्या भइ दूध उत्पादनमा कमी गराउने रोगलाई थुनेलो भनिन्छ । थुनेलो रोग दुहाना पशुमा आर्थिक नोक्सान गर्ने रोगमध्ये एउटा प्रमुख रोग हो ।

परिषद्की अनुसन्धानकर्ता डा गीता पाण्डेका अनुसार थुनेलो लक्षण देखिने र नदेखिने गरी दुई किसिमका हुन्छन् । थुनेलो भएमा थुन,कल्चौडो सुनिने,दूधमा रगत देखिने, साना साना चोक्टा हुने, कल्चौडो र थुन छाम्दा कडा र तातो हुने तथा दूध उत्पादनमा निकै कमी आउने र समयमा उपयुक्त औषधि उपचार नगरे थुन कानो हुने र थुन झर्न पनि सक्ने उनले बतार्इन । लक्षण नदेखिने थुनेलो भएमा कल्चौडो वा थुन सुनिएको हुँदैन तर दूध उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आउने उनले जानकारी दिर्इन् । थुनेलो रोग विभिन्न किटाणुबाट लाग्दछ ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमद्वारा आव २०७२/७३ मा चितवनको माडी र कास्कीका १२० गाईका ४८० दूधका नमुना परीक्षणमा गर्दा ५०.४ प्रतिशत लक्षण नदेखाउने किसिमको थुनेलोको प्रकोप देखिएको प्रमुख आचार्यले बताए ।  जसमध्ये स्टाफाइलोकोकसले ३४ प्रतिशत, इकोलाइले २२.८ प्रतिशत, इस्ट्रेप्टोकोकसले ११.४ प्रतिशत, सिउडोमोनसले चार प्रतिशत,स्टाफाइलोकोकस र इकोलाईको संयुक्त १५.२ प्रतिशत र  अन्य किटाणुद्वारा ११.४ प्रतिशत थुनेलोको सङ्क्रमण गराइएको पाइएको उहाँले बताए ।

दूध सुकाउने बेलामा थुनभित्र एन्टिबायोटिक औषधि राखेर छोड्नु राम्रो हुने परिषद्का डा शिवहरि घिमिरेको भनाइ छ । दूध दुहिसकेपछि थुनलाई पोभिडिन आयोडिन र गिलसरिन मिश्रित झोलमा डुबाउने गर्नाले पनि थुनेलो रोगको प्रकोपमा कमी ल्याउन सकिने घिमिरेले विचार व्यक्त गरे । रासस


क्लिकमान्डु