शाखा स्थापना र सेयर बिक्री प्रक्रिया बारे चिनियाँ प्रतिनिधिले गरे राष्ट्र बैंकसँग छलफल




काठमाडौं । चीनले नेपालको बैंकिङ क्षेत्रमा लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । मिलेसम्म चिनिया बैंकको शाखा नै स्थापना गर्ने र नमिले अहिले संचालमा रहेका नेपाली बाणिज्य बैंकसँग साझेदारको रुपमा भए पनि भित्रने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

नेपालको बैंकिङ क्षेत्रमा लगानी गर्न चीनका ब्यापारी तथा बैंकका प्रतिनिधिले चासो देखाउदै आफूहरुसँग प्रक्रियाको विषयमा छलफल गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

अघिल्लो साता काठमाडौं आएको चीनको ब्यापारी तथा बैंकर्सको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग भेटेर छलफल गरेको छ । यस्तै राष्ट्र बैंकको नियमन विभागका अधिकारीहरुसँग पनि छलफल भएको छ । नियमन विभागले नै बैंक तथा वित्तीय संस्थाको लाइसेन्स दिने भएकोले सो विभागका अधिकारीहरुसँग चिनिया प्रतिनिधिमण्डलले छलफल गरेका हुन् ।

‘चिनिया प्रतिनिधिमण्डलले नेपालको बैंकिङ क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ, चिनिया बैंककै शाखा स्थापना गर्दाको प्रक्रिया के हो, र विदेशी साझेदारको रुपमा आउदा कुन कुन विधि र प्रक्रिया पूरा गर्नुपर्छ भनेर उनीहरुले जिज्ञासा राखेका थिए, हामीले हाम्रो प्रक्रियाको बारेमा जानकारी दियौं,’ नियमन विभागका प्रमुखसमेत रहेका पौडेलले क्लिकमाण्डूसँग भने ।

चिनिया प्रतिनिधिमण्डलले नेपालको बैंकिङ क्षेत्रमा गरेको लगानी फिर्ता लाने बेलामा कसरी सेयर विक्री गरेर लान सकिन्छ भन्नेसम्मको प्रक्रियाका बारेमा पनि जानकारी लिएका थिए ।

सो छलफलको क्रममा नियमन विभागले चिनिया टोली समक्ष नेपालको बैंकिङ क्षेत्रमा विदेशी बैंकका शाखा आउन सक्ने अवस्था तथा विदेशी साझेदारको रुपमा आउन सक्ने प्रक्रियाको बारेमा प्रस्तुतीकरण पनि गरेको थियो ।

‘विदेशी बैंकका शाखा नेपालमा आउन सक्ने अवस्था भए पनि राष्ट्र बैंकले अझै खोलेको छैन, हामीले चिनिया बैंक आउने हो भने त्यो ब्यवस्था खुल्ला गर्ने जानकारी दियौं, यस्तै साझेदारको रुपमा आउनको लागि अहिलेको ब्यवस्था जानकारी दिदै अहिले कुन कुन बैंकमा कुन कुन विदेशी साझेदार कसरी आएको छ भनेर पनि जानकारी दिने काम भयो,’ पौडेलले भने ।

गत बर्ष चैतको पहिलो साता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा चीनको बैंकले नेपालमा शाखा खोल्ने सम्बन्धमा औपचारिक सहमति भएको थियो । सो सम्बन्धि समझदारी पत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल र चीनको केन्द्रीय बैंकका प्रमुखले हस्ताक्षर गरेका थिए ।

‘विदेशी बैंकका शाखा नेपालमा आउन सक्ने अवस्था भए पनि राष्ट्र बैंकले अझै खोलेको छैन, हामीले चिनिया बैंक आउने हो भने त्यो ब्यवस्था खुल्ला गर्ने जानकारी दियौं,’

राष्ट्र बैंकले ०६६ सालमै विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा खोल्न सक्ने नीतिगत व्यवस्था गरे पनि अहिलेसम्म कुनै पनि विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा खोलेका छैनन् । नेपाल विश्व व्यापार संगठनको सदस्य बनेपछि सन् ०१० देखि नेपालमा विदेशी बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न दिनुपर्ने थियो ।

सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले नीतिगत व्यवस्था पनि गरेको थियो । नीतिगत व्यवस्थामा विदेशी बैंक वा वित्तीय संस्थाहरूले नेपालमा शाखा कार्यालय सञ्चालन गर्न चाहे नेपाल राष्ट्र बैंकबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था छ ।

यसका लागि विदेशी बैंकले आफ्नो गृह देशको केन्द्रीय बैंक वा इजाजत प्रदान गर्ने निकायको स्वीकृतिपत्र तथा एकीकृत रूपमा नियमन र सुपरिवेक्षण गरिने बेहोराको पत्र पेस गर्नुपर्ने हुन्छ । साथै, नेपालमा शाखा कार्यालय खोल्न चाहने बैंक वा वित्तीय संस्थाले आफ्नो कम्पनी तीन वर्षदेखि लगातार कम्तीमा ‘ट्रिपल बी’ वा ‘बीएए रेटिङ’ वा सो स्तरसरह परेको पत्र पेस गर्नुपर्ने हुन्छ । विदेशी बैंक वा वित्तीय संस्थाहरूले नेपालमा शाखा कार्यालय सञ्चालन गर्न सुरुमा एक शाखा कार्यालय स्थापनाका लागि निवेदन दिनुपर्छ ।

नेपालमा शाखा खोल्न विदेशी बैंकको चुक्ता पुँजी कम्तीमा पनि २ करोड अमेरिकी डलर हुनुपर्नेछ । यस्तो रकम एउटा शाखाका लागि मात्रै मान्य हुने र थप शाखा खोल्नुपरे एक शाखाको लागि थप ५० लाख अमेरिकी डलर हुनुपर्नेछ ।

निवेदन साथ तोकिएका कागजातको अतिरिक्त निर्धारित पुँजी संरचना बमोजिम ५ प्रतिशतले हुने अमेरिकी डलर नेपाल राष्ट्र बैंकको तोकिएको खातामा जम्मा गरेको सक्कल भौचरसमेत पेस गर्नुपर्छ । यति भएपछि पनि सैद्धान्तिक सहमति प्रदान गर्दा नेपाल राष्ट्र बैंकले सर्तहरू तोक्न सक्नेछ । राष्ट्र बैंकले तोकेका सर्तहरू आवेदकले सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा तोकिएका सर्तहरू पूरा गरी बैंकिङ कारोबार सञ्चालनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन गर्नुपर्नेछ ।

राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्त गरेको मितिले ३० दिनभित्र बाँकी ९५ प्रतिशतबराबर रकम नेपाल राष्ट्र बैंकको तोकिएको खातामा नगद जम्मा वा बैंक जमानत पेस गरेको हुनुपर्छ । विदेशी बैंक वा वित्तीय संस्थाहरूले नेपालमा शाखा कार्यालयबाट निक्षेप एवं कर्जा सापट तथा अन्य सेवा, सुविधासम्बन्धी थोक बैंकिङ कारोबार मात्र गर्न सक्नेछन् ।

यस्तो बैंक वा वित्तीय संस्थाले एकपटकमा कम्तीमा १० करोड रुपैयाँ रकम नेपालभित्र दर्ता भएका संगठित संघ/संस्थाहरूबाट एक वर्षभन्दा बढी अवधिको आवधिक निक्षेप संकलन गर्नुपर्नेछ भने एकपटकमा कम्तीमा १० करोड रुपैयाँ नेपालभित्र दर्ता भएका संगठित संघ/संस्थाहरूबाट एक वर्षभन्दा बढी अवधिको निक्षेप प्रमाणपत्र जारी गरी संकलन गर्न सक्नेछ ।

नेपालमा शाखा खोल्न विदेशी बैंकको चुक्ता पुँजी कम्तीमा पनि २ करोड अमेरिकी डलर हुनुपर्नेछ । यस्तो रकम एउटा शाखाका लागि मात्रै मान्य हुने र थप शाखा खोल्नुपरे एक शाखाको लागि थप ५० लाख अमेरिकी डलर हुनुपर्नेछ ।

व्यापारिक पत्र निष्कासन गरी वित्तीय स्रोत संकलन गर्ने हकमा प्रति व्यक्ति/संस्थाबाट १० करोड रुपैयाँ वा सोभन्दा बढी खरिद गर्ने गरी जारी गर्न सक्ने कानुनी अधिकार पाउँछ ।

यस्तै, एक वर्ष भन्दाबढी अवधिका लागि सार्वजनिक संस्थान, प्रतिष्ठान तथा पब्लिक/प्राइभेट कम्पनी तथा संगठित संघ/संस्थाहरूलाई एकल ग्राहक कर्जा सीमाभित्र रहेर न्यूनतम २० करोड रुपैयाँ वा सोभन्दा बढी रकमको भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनामा कर्जा प्रवाह गर्न सक्नेछन् । देशको आर्थिक क्षेत्रका उत्पादनमूलक सबै उद्योग, भौतिक पूर्वाधार क्षेत्रअन्तर्गतका विकास सम्बन्धी सबै परियोजनाहरू, जस्तैः जलविद्युत, जलविद्युत् प्रसारण लाइन, केबलकार, सडक तथा रेलमार्ग, सुरुङमार्ग, विमानस्थल, ठूला र बहुपरिवार आवासीय भवन निर्माणमा कर्जा प्रवाह गर्न सक्नेछ ।

यस्तै, सिँचाइ, खानी, सामाजिक एवं सेवा क्षेत्रअन्तर्गत हस्पिटल, स्कुल, कलेज, विश्वविद्यालय तथा पर्यटन व्यवसायसँग सम्बन्धित सबै व्यवसाय, सञ्चार क्षेत्रसँग सम्बन्धित व्यवसाय इत्यादि, पट्टा वा भाडातर्फ हवाईजहाज, उपकरण तथा इन्धनबाट सञ्चालन हुने मेसिनलगायतमा २० करोड रुपैयाँ वा सोभन्दा बढीका परियोजनाहरूमा कर्जा/लगानी प्रवाह गर्न सक्नेछ ।


क्लिकमान्डु