भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३ सय ११ घर बने, १७ हजार १ सय ४४ घर बन्दै




काठमाडौं । ०७२ सालको भूकम्पको कारण भत्किएकामध्ये ४१ हजार ३११ घर पुननिर्माण भइसकेका छन् । यस्तै १७ हजार १४४ घरको पुननिर्माण हुदैछ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन भएको १ बर्ष पुगेको उपलक्ष्यमा प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

‘पुस ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेका छन् भने ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनर्निर्माण गर्ने वातावरण तयार भएको छ, भूकम्प अति प्रभावित १४ जिल्लापछि हामीले भूकम्पबाट प्रभावित र कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढाएका छौं,’ पत्रकार सम्मेलनमा ज्ञवालीले भने ।

यस्तै भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३११ घर निर्माण भएको जानकारी प्राप्त भएको र १७ हजार १४४ घरको पुनर्निर्माण जारी रहेको पनि उनले बताए ।

राजनीतिक संक्रमणको बेलामा पुननिर्माण अभियानलाई अगाडि बढाउनु चुनौतिपूर्ण रहे पनि प्राधिकरणले सो चुनौतिलाई अबसरको रुपमा परिणत गराउन सफल भएको ज्ञवालीले दाबी गरे ।

‘तपार्ई हामीलाई थाहा भएकै कुरा हो, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन मुलुक राजनीतिक संक्रमणबाट गुज्रिरहेको र नाकाबन्दीको चपेटामा परेका बेला भएको हो, भूकम्प गएको आठ महिनापछि प्राधिकरण गठन हुँदासम्म मुलुकमा पुननिर्माण, पुनस्र्थापना र जीविकोपार्जनका कार्यक्रमहरु ठप्प प्रायः थिए, पुनर्निर्माण, पुनस्र्थापना र जीविकोपार्जनका कार्यक्रमहरु योजनाबद्ध र व्यवस्थित रुपमा अघि बढ्न सक्लान त भन्ने गम्भीर प्रश्नहरु उठेका थिए,’ उनले भने ।

एक वर्षको अवधिमा एक चरणको उपलब्धी हासिल गर्दै प्राधिकरण पुननिर्माण र पुनस्र्थापनाका कार्यक्रमहरुलाई योजनाबद्ध र व्यवस्थित रुपमा अघि बढाउन सफल भएको उनको दाबी छ ।

भौतिक संरचनाहरुको पुननिर्माणमा प्राधिकरणले निजी आवास पुननिर्माणलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ । ज्ञवालीका अनुसार भूकम्पको मारमा परेका भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुननिर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेका छन् ।

घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा २ लाख ४ हजार १ सय ७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएका प्राधिकरणले जानकारी दिएको छ । यसमध्ये प्राधिकरणको केन्द्रमा १ लाख ७ हजार गुनासा प्राप्त भएका छन् । कतिपय गुनासाहरु स्थानीय तहबाटै सम्बोधन भएका र केन्द्रमा प्राप्त मध्ये पनि ७९ हजार ३ सय २२ वटा गुनासाहरुको पुनरावलोकन भएको उनले जानकारी दिए ।

प्राधिकरणले छिटो काम गर्न सकेन भन्ने आरोपप्रति ज्ञवालीले असन्तुष्टि जनाए ।

‘भूकम्प पीडित जनतालाई परेको पीर मर्कालाई सम्बोधन गर्न प्राधिकरण अत्यन्तै गम्भीर भएर लागेको छ, सयौं वर्षदेखि रहेका समस्याहरु अहिले एकमुष्ट रुपमा आएकाले त्यसलाई सम्बोधन गर्न केही समय लागेको हो,’ उनले भने ।

पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्न भएको र ६९ वटा सम्पदाको पुननिर्माण कार्य जारी रहेको उनको भनाइ छ । चालू आर्थिक वर्ष २०७३÷०७४ भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य ज्ञवालीले जानकारी दिए ।

यस्तै २०० वटा स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुननिर्माण सम्पन्न भइसकेको र १६९ वटा स्वास्थ्य केन्दको पुनर्निर्माण कार्य जारी उनको भनाइ छ । चालू आर्थिक वर्षभित्रै २६८ वटा स्वास्थ्य केन्द्र तथा संस्थाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भएको छ भने २२८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा छन् । चालू आर्थिक वर्षभित्रै केन्द्र र जिल्ला तहका स्थायी एवम् प्रिफ्रेब्रिकेटेड गरी ५०७ वटा भवन पुनर्निर्माण गर्र्ने लक्ष्य प्राधिकरणको छ ।

शैक्षिक संस्थातर्फ २०० वटा विद्यालयको पुनर्निर्माण भएको छन भने १२ सय विद्यालय पुननिर्माणको प्रक्रियामा रहेका प्राधिकरणले जानकारी दिएको छ । आगामी कातिकभित्र २३ सय विद्यालयहरुको मर्मत सम्भार एवम् पुननिर्माण कार्य सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ ।

भूकम्पबाट क्षति भएका खानेपानी आयोजना मध्ये २९७ वटाको पुननिर्माण कार्य सम्पन्न भइसकेको र ९६१ आयोजनाहरुको पुननिर्माण भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तैगरी सडक, जलविद्युत, उद्योग, जीवीकोर्पाजन लगायतका क्षेत्रहरुमा पनि समानन्तर रुपमा कामहरु भइरहेका प्राधिकरणको भनाइ छ ।

चालु आर्थिक बर्ष भित्रै कम्तिमा २५ वटा बस्तीहरुको योजना तयारी गर्ने गरी कार्य अघि बढाइएको प्राधिकरणको भनाइ छ । काठमाडौं उपत्यकाभित्रका सात वटै विश्वसम्पदा क्षेत्रहरु र गोरखा एवं नुवाकोट दरबार क्षेत्रको वृहत्तर विकासका निम्ति गुरुयोजना तयारी कार्य अघि बढाइएको जानकारी दिइयो ।

प्राधिकरणले आगामी दिनमा गर्ने पुननिर्माण र पुनस्र्थापनाका कार्यको कार्यतालिका सहितको स्पष्ट खाका बनाइसकेको सो अवसरमा जानकारी दिइयो ।


क्लिकमान्डु