बुकिङकर्तालाई नै गाडी दिन सकेनन् ब्यवसायीले, चार महिनामा ३० अर्बको आयात




काठमाडौं । गतवर्ष भारतीय नाकाबन्दीको कारण ठप्प रहेको अटोमोबाइल्स क्षेत्रको कारोवार यो वर्ष भने फस्टाएको छ । कात्तिक महिनासम्ममा गाडी र पार्टपुर्जाको ३० अर्ब रुपैयाँको आयात भएको छ ।

अघिल्लो वर्षको कात्तिक महिनामा गाडी र पार्टपुर्जाको आयात ८ अर्ब ३८ करोड रुपैयाँको थियो । आर्थिक वर्ष ०७२÷७३ मा १४ अर्ब ७७ करोड रुपैयाँको गाडी र पाटपुर्जाको आयात भएको थियो ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठ अघिल्लो बर्ष नाकाबन्दी र भूकम्पको कारण आवश्यकता हुनेले पनि गाडी किन्न नसकेको र यो बर्ष परिस्थिति अनुकुल भएको बिक्री बढेको बताउछन् ।

अघिल्लो वर्षहरुमा एक वर्षमा आउने गाडी आयात यो वर्ष कात्तिक महिना सम्ममा आएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ६२ अर्ब रुपैयाँको गाडी आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७१/७२ मा ४४ अर्ब रुपैयाँको गाडी एक वर्षमा आएको थियो भने आर्थिक वर्ष २०७०/७१ मा ३२ अर्ब रुपैयाँ गाडी आयातको लागि बाहिरिएको थियो ।

यो वर्ष कात्तिक महिनासम्ममा कुल आयातमा गाडी तथा यसको पार्टपुर्जाको आयातको हिस्सा सबैभन्दा बढी छ । कात्तिक महिनासम्ममा पेट्रलियम पदार्थको आयात २९ अर्बको छ । कात्तिक महिनासम्ममा तीन खर्बको बस्तु आयात भएकोमा गाडी र यसको पार्टपुर्जाको हिस्सा १० प्रतिशत छ । जुन अहिलेसम्म कै सबैभन्दा बढी हो ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठ अघिल्लो बर्ष नाकाबन्दी र भूकम्पको कारण आवश्यकता हुनेले पनि गाडी किन्न नसकेको र यो बर्ष परिस्थिति अनुकुल भएको बिक्री बढेको बताउछन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल घरजग्गा र सेयर कारोवारमा आएको बढोत्तरीले गाडी खरिद गर्नेहरु बढेको बताउँछन् ।

‘अघिल्लो वर्ष नाकाबन्दी र आन्दोलनका कारण आवश्यकता भएर पनि गाडी खरिद गर्ने मनस्थितिमा कोहिपनि थिएनन्, अब संबिधान अएसँगै आर्थिक गतिबिधिले बढवा पाउको अपेक्षा गर्दै गाडी खरिद गर्नेको संख्या बढेको हो,’ अध्यक्ष श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

पछिल्लो एकवर्षमा काठमाडौंलगायत बाहिरका सहरी क्षेत्रमा जग्गाको कारोवार फस्टाएकोले सेयर बजार उकासिएको कारण गाडी खरिद गर्नेहरु बढेका हुन् । अहिले गाडी बिक्रेताले माग अनुसारको गाडी ग्राहकलाई डेलिबरी गर्न सकेका छैनन् ।

‘२० वटा गाडीको बुकिङ भएको थियो १० ओटा मात्र दिन सकिएको छ’, पोखराका एक गाडी बिक्रेताले भने ।

विगतका वर्षमा निजी सवारी साधन चढ्नेहरु काठमाडौं उपत्यकामा बढी हुने गरेकोमा पछिल्ला केही वर्षमा उपत्यका बाहिर पनि गाडीको कारोवार बढ्न थालेको छ ।

घरजग्गा र सेयर कारोवारमा लाग्नेहरुले कमाएको पैसा र दशैं अगाडिसम्म बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम (तरलता) को कारण गाडी खरिद गर्न सहज थियो । दशैं अगाडिसम्म बैंकहरुले साढे ६ प्रतिशतसम्म ब्याजदरमा गाडी फाइनान्सिङ गरेका थिए । ८० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ गर्ने भएको हुँदा गाडी खरिद गर्न निकै सहज भयो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक महिनासम्ममा सवारी साधन धितो राखेर बैंक तथा वित्तीय संस्थाले १९ अर्ब रुपैयाँ ऋण दिएका छन् । बैंक तथा वित्तीय संस्थाले गाडी धितो राखेर दिने कर्जा गाडी खरिदको लागि नै दिने गरेको छन् । सवारी साधन धितो राखेर सामान्यतया अन्य कारोवारको लागि ऋण लिने गरिदैन ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल घरजग्गा र सेयर कारोवारमा आएको बढोत्तरीले गाडी खरिद गर्नेहरु बढेको बताउँछन् ।

‘घरजग्गा र सेयर कारोवारमा लाग्नेहरुले पछिल्ला वर्षमा आम्दानी बढाए, आम्दानी बढेपछि गाडी खरिद गर्नेहरु स्वभाविक रुपले बढ्छन्,’ दाहालले क्लिकमाण्डूसँग भने ।

दशैं अगाडिसम्म तरलता सहज भएको हुँदा गाडी खरिदको लागि सस्तो ब्याजदरमा सबै बैंक तथा वित्तीय संस्थाले स्कीम ल्याएको उनको भनाइ छ । तर,पछिल्लो समय बैकिङ क्षेत्रमा तरलता अभाव भएको कारण ब्याजदर भने बढ्न थालेको छ ।


क्लिकमान्डु