नेपाल एसबीआई बैंकले भारतबाट रकम भित्र्याउन सुरु गर्यो नयाँ सेवा




काठमाडौं । नेपाल एसबिआई बैंकले पेमेन्ट गेटवे फेज–दुई (भारतबाट नेपाल) र मर्चेन्ट एक्वायरिङ्ग सेवा सेवा शुरु गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे र स्टेट बैंक अफ इन्डिया, अन्तराष्ट्रिय बैंकिङ्ग विभागका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेनगुप्ताले राजधानीमा एक कार्यक्रमका बीच संयुक्त रुपमा उक्त बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् ।

आप्mना ग्राहकहरुका लागि उच्चस्तरीय बैंकिङ्ग सेवा दिने उद्देश्यले बैंकले यी सेवा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । पेमेन्ट गेटवे फेज–दुई अन्तर्गत भारतमा रहेका नेपालीहरुले तत्काल नेपालमा पैसा पठाउन सक्नेछन् । हालसम्म नगद भारतबाट नेपालमा नगद पठाउने उपयुक्त तथा सुरक्षित माध्यम नहुँदा नेपाली कामदारहरुले सास्ती बेहोर्नु परेको थियो । त्यसैले नेपाल एसबीआई बैंकको यो नयाँ प्रडक्टले उनीहरुलाई सुविधा पुग्ने बैंकको विश्वास छ ।

त्यसैगरी, मर्चेन्ट एक्वायरिङ्ग सेवाले सेवाग्राहीलाई सुरक्षित रुपमा बैंकिङ कारोबार गर्न सहयोग गर्नेछ । यस्तो टर्मिनलबाट कारोबार गर्दा कार्डवाला आधिकारिक व्यक्तिले आफै पिन कोड इण्ट्री गरेपछि मात्रै कारोबार सफल हुनेछ । यसले गर्दा ग्राहकको कार्डको दुरुपयोग हुने र अनावश्यक रकम भुक्तानी हुने संभावना कम भएर जाने बैंकले जानकारी दिएको छ । सानो र सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने यस्ता टर्मिनलहरु सिम कार्डको सहायताले सञ्चालन गर्न सकिन्छ ।

नयाँ प्रडक्टको शुभारम्भ गर्दै नेपालका लागि भारतीय राजदूत रायले नयाँ पेमेण्ट गेटवेले भारतमा रहेका नेपालीलाई सुरक्षितरुपले घरमा पैसा पठाउन मद्दत गर्ने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आईटीमा आधारित नयाँ सेवा सुभारम्भ गरेकोमा बैंकलाई बधाइ दिए । केन्द्रीय बैंक लाइसेन्सिङ नीतिमा उदार भएको र बैंक तथा वित्तीय संस्थालाई नयाँ प्रडक्टको विकास र कार्यान्वयन गर्न सधैं प्रोत्साहित र सहयोग गरेको पनि उनले बताए ।

बैंकको बोर्ड अफ डाइरेक्टर अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रविधिमा आधारित बैंकिङका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि बैंकले निरन्तर प्रयास गरेको र आगामी दिनमा अझ उच्च प्रविधि भित्र्याउन प्रयास गर्ने जानकारी दिए । त्यसैगरी, एसबीआई मुम्बइका अन्तरराष्ट्रिय बैंकिङ नायब प्रवन्ध निर्देशक सिद्धार्थ सेनगुप्ताले डिजिटल बैंकिङमार्फत आफ्ना ग्राहकहरुलाई सजिलो र स्तरीय बैंकिङ सेवा दिन बैंकले निरन्तर प्रयत्न गरिरहेको बताए । साथै, एसबीआई बैंकले नेपाल एसबीआई बैंकलाई डिजिटल बैंकिङका क्षेत्रमा लिडर बनेको देख्न चाहेको पनि उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले बैंकले आगामी दिनमा प्रविधिमा आधारित थप प्रडक्ट ल्याउने जानकारी दिए । सेवाग्राहीलाई सरल र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउनु बैंकको लक्ष्य रहेको उनको भनाइ थियो ।
सो अवसरमा स्टेट मुख्य महाप्रबन्धक सुजितकुमार वर्मा, मुख्य महाप्रबन्धक एसबीआई मुम्बईका भिके त्यागी नेपाल एसबीआई बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

यसैबीच, बैंकले काठमाडौंको केशर महलमा कर्पोरेट शाखाको उद्घाटन गरेको छ । एसबीआई मुम्बइका सिद्धार्थ सेनगुप्ताले एक कार्यक्रमबीच सो शाखाको उद्घाटन गरेका हुन् ।
नेपाल एसबीआई बैंकले हाल ६२ शाखा कार्यालय र ७ एक्सटेन्सन काउण्टरसहित ६९ कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका तीन क्षेत्रीय कार्यालय र एक कर्पोरेट अफिस तथा मुलुकभर ९१ एटीएम र दुई मोबाइल एटीएम तथा दुई क्यास डिपोजिट मेशिन (सीडीएम) छन् ।


क्लिकमान्डु