समस्याग्रस्त फाइनान्स किनेका एनआरएनलाई गभर्नरले भने- तपाईहरु धनी भइसक्नु भयो



काठमाडौं । ‘ठूल्ठूला लगानीको घोषणा गरिरहनु पर्दैन, स-सानो काम गरेर नै मन जित्न सकिन्छ, आज यो फाइनान्सका सेयरधनी र निक्षेपकर्ताहरु कति खुसी भए होलान्, तपाईं (एनआरएन) हरुले नेपालीको मन जितिसक्नुभयो, तपाईँहरु धनी भइसक्नु भयो,’ समस्यामुक्त पछि जनरल फाइनान्सको कारोबार सुभारम्भ गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले भने ।

०७० जेठ १२ गते राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको जनरल फाइनान्स एनआरएनको समूहले किनेपछि समस्यामुक्त भई बिहीबारदेखि पुन कारोबार सुरु गरेको छ । कारोबार सुभारम्भ कार्यक्रमका प्रमुख अतिथि थिए, गभर्नर डा. नेपाल ।

डा. नेपालले समस्याग्रस्त संस्था किनेर एनआरएनहरुले देश र जनताका लागि ठूलो गुन लगाएको भन्दै नयाँ लगानीकर्ताहरुको खुलेर प्रसंसा गरे ।

‘जनरल फाइनान्सको कारोबार सुभारम्भ हुँदै गर्दा म जति खुसी सायद अरु छैन होला, म गभर्नर हुने वित्तिकै भनेको थिएँ कि अब कुनैपनि संस्थालाई समस्याग्रस्त घोषणा गर्दिन र समस्याग्रस्त अवस्थामा रहेका संस्थाहरुको पनि उचित व्यवस्थापन गर्छु,’ उनले स्मरण गरे ।

त्यसबेला आफ्नो कुरा मान्छेहरुले नपत्याएको र आज त्यो पूरा भएकोले आफू सबैभन्दा खुसी भएको उनको भनाई थियो ।

समस्याग्रस्त घोषणा गरिएका ११ संस्थामध्ये ८ संस्थामा लगानी थपेर संचालन गर्न नयाँ लगानीकर्ताहरुको समूहसँग सैद्दान्तिक सहमति भई प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए ।

‘एउटा समस्याग्रस्त संस्था किन्न ४/५ वटा समूहले प्रस्ताव गरिरहेका छन्, अबको ३ महिनाभित्र नेपालको वित्तीय क्षेत्रमा समस्याग्रस्त संस्था
हुने छैनन्,’ गभर्नर डा. नेपालले भने । संस्थाहरु समस्याग्रस्त अवस्थामा रहँदा आफूलाई साह्रै पीडा भएको उनले सुनाए ।

‘जनताको पैसा लिएर कारोबार थालेका संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरि कारोबार बन्द गर्नुपर्दा हामीलाई साह्रै पीडा भएको थियो,’ उनले सुनाए ।

बैंक वित्तीय संस्थामा ९०/९५ प्रतिशत जनताको पैसा हुने भएपनि त्यसका सञ्चालक तथा छ व्यवस्थापकहरुले त्यो पैसा आफ्नो भएको भन्ने प्रवृत्तिले गर्दा संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्नुपरेको गभर्नरको भनाई छ ।

‘बैंकमा लगानी गर्नु भनेको अन्य व्यवसायमा लगानी गरेजस्तो होइन, यहाँ त सर्वसाधारणको विश्वास जित्न सक्नुपर्छ, मन जित्नुपर्छ,’ उनले भने ।

नेपालको वित्तीय क्षेत्रमा लगानी गर्दा घाटा नहुने उनको भनाइ छ । तर, प्रवद्र्धहरुले चाँडो नाफा कमाउने भन्दा पनि संस्थाको ‘गुडविल’ कमाउन लाग्नुपर्ने गभर्नरको सुझाब छ ।

‘संस्थाले गुडविल कमायो भने पुँजी बजारले त्यो संस्थाका लगानीकर्ताहरुलाई धनी बनाइदिन्छ, तपाईहरु त धनी भइसक्नु भयो,’ उनले भने ।

नेपालमा भएकाहरु भन्दा पनि विदेशमा गएर दुख गरेर कमाएकाहरुले पैसाको महत्व बुझेको भन्दै गभर्नरले भने, ‘एनआरएनका साथीहरु जुन उत्साहका साथ लगानी गर्न आउनुभएको छ, म उहाँहरुको पूर्ण सफलताको कामना गर्छु ।’

नयाँ लगानीकर्ताको समूहलाई गभर्नरले व्यावसायिक व्यवस्थापन राख्न र व्यवस्थापनमा हस्तक्षेप नगर्न सुझाब दिए ।

‘मलाई विश्वास छ ,भोलिका दिनमा कम्पनी अझै राम्रो हुनेछ, विगतको जस्तो गल्ती दोहोरिने छैन,’ गभर्नरले भने ।

फाइनान्सका अध्यक्ष पदमराज न्यौपानेले आगामी ६ महिनाभित्र कम्पनीलाई उत्कृष्ट बनाउने लक्ष्यसहित आफूहरुले यो कम्पनीमा लगानी गरेको बताए ।

‘६ महिनामै राम्रो कम्पनीको रुपमा स्थापित गर्ने हाम्रो संकल्प छ, हामी नियामकका सबै नीति निर्देशनहरु अक्षरस पालना गरेर व्यावसायिकरुपमा अघि बढ्ने छौं,’ अध्यक्ष न्यौपानेले प्रतिबद्धता जाहेर गरे ।

थप पूँजी लगानी गरेर कम्पनीलाई स्तरोन्नति गरी ठूलो संस्था बनाउने उद्देश्यका साथ लगानी थप गरिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले पहिला राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिएकाले समस्याग्रस्त घोषणा हुनु परेको भन्दै अबका दिनमा हाम्रालाई नभई राम्रालाई प्राथमिकता दिन आग्रह गरे ।

‘ऋण दिँदा हाम्रालाई होइन, राम्रालाई दिनुस्, आगामी दिनमा कुनै समस्या पर्दैन,’ उनले भने ।

वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले अब उत्तरदायित्व र चुनौति दुबै बढेको भन्दै लगानीकर्ताहरुलाई पूर्ण व्यावसायिक हुन सुझाए ।

‘५० डिग्रीको तातो घाममा काम गरेको भन्दा पनि फाइनान्स कम्पनी चलाउन चुनौतिपूर्ण छ,’ उनले भने ।

कुनैपनि संस्था व्यवस्थापनका कारणले मात्रै समस्याग्रस्त नहुने उल्लेख गर्दै तुलाधरले संस्था विगार्नमा प्रोमोटरहरुको पनि उत्तिकै भूमिका रहने बताए ।

यो पनि पढ्नुहोस्- कुन समस्याग्रस्त संस्था कसले किन्दैछन् ?


क्लिकमान्डु