कसरी लगानी गर्छन् नेपाली सेयर लगानीकर्ता ?



काठमाडौं । नेपाली लगानीकर्ता पुँजी बजारमा किन लगानी गर्छन् । उनीहरुका आकांक्षा र आवश्यकता के के हुन् भन्ने सन्दर्भमा प्रज्ञा अधिकारीले सन् २०१० मा एक अध्ययन गरेकी थिइन् । उक्त अध्ययनको निष्कर्षलाइ यहाँ प्रस्तुत गरिएको छ ।

अध्ययनमा भाग लिएका लगानीकर्ताकाअनुसार उनीहरु आफ्ना वित्तीय आवश्यकताको पुर्तिका लागि लगानी गर्ने जनाएका छन् । उनीहरु पुँजी बृद्धिद्धारा आफ्नो सम्पत्ति वृद्धि गर्न चाहन्छन् ।

त्यसैगरी, उनीहरु बोनस र हकप्रद सेयरका लागि पनि लगानी गर्छन् । तत्काल उपभोगका लागी नगद लाभांस पछि बोनस र हकप्रद सेयरमा नै लगानीकर्ताका रुचि देखिएको छ ।

वित्तीय आवश्यकतापछि सामाजिक आवश्यकता पनि लगानीकर्ताका लगानीको मुख्य कारण रहेको छ । लगानीका बारे साथीभाई र आफन्तका बीच हुने छलफल सामाजिकीकरणको उपाय बनेको छ ।

उनीहरु आफ्ना सामाजिक आवश्यकता अरु लगानीकर्ताहरुसँग सेयर र लगानीका बारेमा छलफल गरी पुर्ती गर्ने गर्छन् । अध्ययनले सुचनामा पहुँच र ब्यक्तिको बुझाइको स्तरले लगानीको निर्णयमा प्रभाव पार्ने देखाएको छ ।

सेयर ब्रोकरसँगको कुराकानीमा उनिहरुले अधिकांश नेपाली लगानीकर्तासँग आफुले लगानी गर्ने कम्पनीको बित्तीय विवरण बिश्लेषण गर्नका लागी आवश्यक ज्ञान र सीपको कमी रहेको जनाएका छन् ।

त्यस्तै, बढी आत्मबिश्वास नेपाली लगानीकर्ताको अर्को समस्याको रुपमा रहेको अध्ययनले देखाएको छ । अध्ययनमा भाग लिएका लगानीकर्ता आफ्नो ज्ञान, सीप र सेयर छान्ने सन्दर्भमा अति आत्मबिश्वासी देखिएका छन् ।

उनीहरु आफुले खरिद गरेको सेयरको मुल्य बढ्दै जानेमा ढुक्क देखिन्छन् । आत्मबिश्वासको स्तर भने लिङ्ग र उमेर अनुसार फरक फरक देखिएको छ ।

अध्ययनले नेपाली लगानीकर्ताहरुको सामुहिकतामा निर्णय गर्ने बानी लाइ पनि प्रमुख बानीको रुपमा उजागर गरेको छ । उनिहरु निर्णयमा पुग्नुअघि सामुहिकरुपमा छलफल गर्ने गर्छन् । यो उनीहरुको निर्णमा प्रभाव पार्ने प्रमुख कारण मध्यको एक हो ।


पुष्प दुलाल