काठमाडौं । के तपाईँ सेयर बजार बढ्छ भनेर लगानी थप गर्ने सोचमा हुनुहुनछ ? यदि हुनुहुन्छ भने होस गर्नुस् । धितोपत्र दलाल व्यवासी संघका निवर्तमान अध्यक्षसमेत रहेका कालिका सेक्यूरिटिजका प्रमुख नरेन्द्र सिँजापती अहिले सेयर किन्ने बेला नभएको सुझाब दिन्छन् ।
‘तपाईँ सेयरमा लगानी थप्ने योजनामा हुनुहुन्छ भने तत्काल त्यो योजना स्थगित गर्नुस्’ सिँजापतीले क्लिकमाण्डूसँग भने, –‘यो सेयर किन्ने समय हुँदै होइन ।’
ठूला र टाठाबाठा लगानीकर्ताहरु सेयर बेचेर बाहिरिएकाले त्यसको असरस्वरुप बजार घटेको उनको ठहर छ ।
‘अब केही महिना ठूला लानीकर्ताहरु फर्किँदैनन्, बजारमा त्यसको प्रभाव रहिरहन्छ,’ उनले भने, ‘यसअघि तपाईँले सेयरमा गरेको लगानी ऋण होइन भने तत्काल बेच्न नआत्तिनोस् किनभने केही महिनापछि सेयर बढ्ने देखिन्छ ।’
त्यसैले अहिलेको अवस्था भनेको पर्ख र हेरको अवस्था रहेको उनले सुझाए ।
‘बजारमा चलाख र ठूला लगानीकर्ताहरुको राम्रो प्रभाव हुन्छ, त्यसैले अहिले पर्ख र हेरको नीति अपनाउन मेरो सुझाब छ,’ सिँजापतीले भने ।
सिँजापतीका अनुसार अहिले बैंकहरुले सेयर धितो कर्जामा ऋणसमेत दिन छाडेका छन् र भएको ऋणको व्याजदर पनि धमाधम बढाइरहेका छन् ।
एकातिर सेयर बजार लगातार घट्न थाल्यो भने अर्कातिर बैंकहरु लगानी योग्य पुँजी (तरलता)को अभावको तीब्र चापमा परेका छन् ।
‘अहिले बैंकले सेयर धितोमा ऋण नै दिँदैनन् । तीन महिनाअघिसम्म ६/७ प्रतिशत भएको सेयरधितो कर्जाको व्याजदर बढाएर ८/९ प्रतिशत पुर्याइसके । नयाँ बैंकहरुले त पुस मसान्तसम्ममा यस्तो व्याजदर ११ प्रतिशत पुरेयाउने भन्दै ऋणीलाई फोन गरिरहेका छन्,’ सिँजापती भन्छन् ।
प्रतिक्रिया