अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपः सीआईए



वासिङटन । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएको अमेरिकी गुप्तचर रिपोर्टमा पाइएको गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युज टेलिभिजनले बुधबार जनाएको छ ।

कसरी डेमोक्र्याट्स पक्षका ईमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिएको गुप्तचर रिपोर्टमा भएको उक्त अमेरिकी टेलिभिजनले दाबी गरेको छ ।

टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआईए) का वरिष्ठ अधिकारीले ह्याककाण्डमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआईएसँग सुरक्षित रहेको जनाएको छ ।

यसै सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग सक्षिप्त जवाफ दिँदै ‘रिपोर्ट बेतुक सन्दर्भको आधारहीन व्याख्या’ मात्र भएको बताए ।

गतहप्ता वासिङ्टन पोस्टले अमेरिकी ईमेललाई रसियाद्वारा ह्याक गरी सार्वजनिक गरिदिएको भन्ने सीआईएको विश्लेषणसहितको रिपार्ट छापेपछि यस विषयले विश्वभर चर्चा पाएको थियो । सीआईए रिपोर्टमा ईमेल ह्याक गरी रसियाले रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई जिताउन प्रयोग गरिएको प्रशस्त आधार भेटिएको बताइएको पोस्टले जनाएको थियो ।

सन् २०११ मा रसियाली संसदीय निर्वाचनमा पुटिनको इमान्दारितामाथि प्रश्न गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री क्लिन्टनले आफ्नो धारणा व्यक्त गरेकी थिइन । पुटिनले क्लिन्टनविरुद्ध विवादास्पद ईमेल सार्वजनिक गरी बदला लिन खोजेको विश्लेषकहरुको बुभाइ छ । रासस÷एएफपी


क्लिकमान्डु