अर्घाखाँची सिमेन्टले ‘आइपीओ’ जारी गर्ने



काठमाडौं । निजी लगानीमा सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योगले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी पशुपति मुरारकाको समेत लगानी रहेको सो उद्योगले आइपीओ जारी गर्नका लागि प्रबन्धपत्र र नियमावली संसोधन सुरु गरेको छ ।

सो उद्योग अहिले उद्योग विभागमा प्राइभेट लिमिटेड अन्तरगत दर्ता भएको छ । पब्लिक कम्पनीको रुपमा परिणत नभइ आइपिओ जारी गर्न पाइदैन । यसैकारण उद्योगको प्रबन्धपत्र र नियमावली संसोधन गरेर कम्पनीलाई पब्लिक कम्पनी बनाउन लागिएको उद्योगका सञ्चालक मुरारकाले जानकारी दिए ।

‘अर्घाखाँची सिमेन्टलाई पब्लिकमा लान तयारी गरिरहेका छौं, एक वर्ष भित्रमा अर्घाखाँची सिमेन्टको आइपिओ आइसक्छ, आइपिओ जारी गरेपछि पनि कम्तिमा १५ प्रतिशत प्रतिफल दिन सक्छौं,’ मुरारकाले भने ।

प्रबन्धपत्र नियमाबली संसोधन गरी कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ बनाउने र त्यसको ३० प्रतिशत आइपिओ जारी गर्ने तयारी थालिएको उनले बताए ।

‘धितोपत्र बोर्डले निजी स्वामित्वमा चलेका उद्योगलाई पनि आइपीओ जारी गरेर पब्लिकमा जानसक्ने बाटो खुल्ला गरेको छ, हामी आइपिओ जारी गरेर सर्वसाधारणलाई सहभागी गराउने तयारीमा छौं,’ मुरारकाले क्लिकमाण्डूसँग भने ।

धितोपत्र बोर्डले उत्पादनमुलक उद्योगले ‘फ्रि प्राइस’ मा सर्बसाधारणलाई सेयर बिक्री गर्न पाउने ब्यवस्था गरेपछि मुरारका अर्गनाइजेसन अन्तर्गतको अर्घाखाँची सिमेन्टले आइपिओ जारी गर्ने तयारी थालेको हो ।

बोर्डले मंसिर १ गते धितोपत्र निष्काशन नियमावली संसोधन गर्दै उत्पादनमुलक उद्योगले पनि सर्वसाधारणलाई सेयर बिक्री गर्न मिल्ने नीतिगत व्यववस्था गरिसकेको छ ।

‘अर्घाखाँची सिमेन्टलाई पब्लिकमा लान तयारी गरिरहेका छौं, एक वर्ष भित्रमा अर्घाखाँची सिमेन्टको आइपिओ आइसक्छ,’ उनले भने ।

सो सिमेन्ट उद्योगमा मुरारका अर्गनाइजेसनसँगै सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र भारतको उमा सिमेन्ट इन्टरनेशनलको संयुक्त लगानी छ । यो उद्योगमा ८ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको मुरारकाले जानकारी दिए ।

‘प्रतिफल राम्रो भएकाले नै मैले सिमेन्ट उद्योगमा लगानी थपेको हुँ, आइपिओ जारी गरेपछि पनि कम्तिमा १५ प्रतिशत प्रतिफल दिन सक्छौं,’ उनले भने ।

निजी क्षेत्रबाट संचालित उद्योगले विगतमा पनि आइपिओ जारी गरेका थिए । तर केही उद्योगमा सर्बसाधारणको लगानी फसेको छ । तर मुरारकाले आफ्नो स्वामित्व भएको उद्योगमध्ये सबैभन्दा राम्रो प्रतिफल अर्थात् नाफा कमाइरहेको उद्योगकै आइपिओ जारी गर्ने तयारी गरेका हुन् ।

‘पहिलो चरणमा राम्रै नाफा भएको कम्पनीलाई पब्लिकमा लानुपर्छ भनेर अर्घाखाँची सिमेन्टको आइपीओ निष्काशन गर्ने सोच बनाएको छौं,’ उनले भने ।

बोर्डले आइपीओ जारी गर्नका लागि कम्तीमा ३ वर्ष नाफामा सञ्चालन भएको, लगानीकर्तालाई लाभांस दिनसक्ने क्षमता भएको कम्पनीले मात्रै आइपीओ जारी गरेर पैसा उठाउन पाउने व्यवस्था गरेको छ ।

धितोपपत्र बोर्डले अंकित मुल्यमा प्रिमियम थपेर आइपीओ जारी गर्न मिल्ने व्यवस्था गरेको हो । ०६५ को धितोपत्र निष्काशन नियमावलीमा ३० प्रतिशत आइपीओ जारी गर्नुपर्ने व्यवस्था थियो । संसोधित नियमावीले १० प्रतिशतमात्रै पनि पब्लिकमा जान पाइने व्यवस्था गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् पब्लिक सेयर निष्काशन गर्ने कम्पनीलाई आयकरमा १५ प्रतिशत छुटको घोषणा गरिसकेको छ ।
हाल सेयर बजारमा १८ वटा उत्पादनमूलक उद्योगहरु सूचिकृत भएपनि अधिकांस कम्पनीको सेयरको कारोबार हुँदैन । नेपालमा सिमेन्ट, डन्डी, रबर, जुत्ता, चाउचाउ, मदिरा तथा पेय पद्धार्थ लगायतका थुप्रै उत्पादनमूलक उद्योहरु सञ्चालित छन् ।

सर्वसाधारणलाई सेयर जारी गरेका कम्पनीहरुले हरेक तीन महिनामा कम्पनीको सम्पूर्ण वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने हुन्छ । तर, निजी कम्पनीहरुले आफ्नो वित्तीय विवरण सार्वजानिक गर्नु पर्दैन ।

उत्पादन क्षमता १५० प्रतिशतले बढाउँदै

मुरारकाले सिमेन्ट उद्योगको क्षमता विस्तार गरिरहेका छन् । क्षमता विस्तारका लागि उनले ४ अर्ब १३ करोड रुपैयाँ थप लगानी गरेका छन् । थपिएको लागानी सहित अर्घाखाँची सिमेन्ट उद्योगमा कूल ८ अर्ब रुपैयाँभन्दा बढी लगानी पुग्नेछ ।

अर्घाखाँचीले उत्पादन क्षमता १५० प्रतिशतले विस्तार गरेर दैनिक ३ हजार मेट्रिकटन उत्पादन क्षमता बनाउन लगानी थप गरेको हो । आगामी ७/८ महिनाभित्र क्षमता विस्तारको काम भइसक्ने मुरारकाले जानकारी दिए । क्षमता विस्तार भएपछि यो उद्योग नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग बन्ने मुरारका बताउँछन् ।


क्लिकमान्डु