बिजुली चोरका घरमा मिटर जडान गर्दै प्राधिकरण



इनरुवा । सुनसरी घुस्की गाविसका मिजाज अन्सारी करिब दुई वर्षदेखि चोरी गरी विजुली बाल्दै आएका थिए । यसरी विद्युत् चोरी गर्ने अन्सारीको घरमा अहिले मिटर जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले अन्सारीको घरमा विद्युत् मिटर जडान गरेको हो । अन्सारीले जस्तै घुस्की गाविसका अधिकांशले चोरी गरेर विजुली बाल्दै आएका थिए ।

अहिले इनरुवा वितरण केन्द्रका कर्मचारीले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत चोरी गरेर विजुली बाल्दै आएका स्थानीयवासीको घर घरमा गई मिटर जडान गर्न थालेका छन् ।

कार्यालयले घुम्ती शिविरको आयोजना गरेर मिटर बक्स, तारलगायतका सामग्री उपलब्ध गराएको छ । मिटर जडान गरिदिएपछि उपभोक्ताले विजुली चोरी गर्न छाडेका छन् ।

प्राधिकरणका इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जयप्रसाद गुप्ताले विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा कमी आएको बताए ।


क्लिकमान्डु