रुट परिर्वतन गर्दा स्थानीयवासी आन्दोलित, कालीगण्डकी प्रसारण लाइनको काम प्रभावित



पर्वत । पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनको काम स्थानीयवासीको अवरोधले प्रभावित बनेको छ ।

उत्तरी पर्वतको धाइरिङ गाविसका स्थानीयवासीले अवरोध सिर्जना गरेपछि काम प्रभावित बनेको हो । आयोजनाको धाइरिङ खण्डअन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुने भन्दै प्रभावित बासिन्दा विरोधमा उत्रिएका हुन् ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने धाइरिङको वडा नं २, ३ र ४ का स्थानीयवासीले बस्ती नजिकको खेतीयोग्य जमिनबाट लाइन विस्तार गर्न नहुने भन्दै विरोध गर्दै काम गर्न रोक लगाएका छन् । आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्भेलाई परिवर्तन गरी फाँटबाट लैजान खोज्दा स्थानीयवासी चर्को विरोध उत्रिएका हुन् ।

फाँटबाट प्रसारण लाइन विस्तार गर्दा खेतीयोग्य जमिनमा असर पु¥याउने भएकाले यसको विकल्प खोज्न प्रभावित स्थानीयवासीले आयोजनासमक्ष माग गरेका छन् ।

दुई सातादेखि खेतीयोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निर्णय गर्दै काम गर्न अवरोध गर्दै आएको सङ्घर्ष समितिका संयोजक टुङ्गनाथ आचार्यले बताए । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रसारण लाइन विस्तार गर्दा दीर्घकालीन रुपमा ठूलो असर पु¥याउने भएकाले आफूहरु विरोधमा उत्रिन बाध्य भएको उनको दाबी छ ।

आयोजनाले सल्यानको फाँटमा तीनवटा एङ्गल टावर बनाउन लागेको हो । टावरसँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पु¥याउने र बैंक धितोमा उक्त जग्गा राख्न र खरिद बिक्री गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताए ।

आयोजनाका कर्मचारी र स्थानीयवासीको छलफलबाट गाविस सचिव मोहदत्त पौडेलको संयोजकत्वमा ११ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको कार्यदलका सदस्य शेरबहादुर केसीले जानकारी दिए ।

आयोजना प्रमुख चन्दनकुमार घोषले स्थानीयवासीको मागलाई आयोजनाले गम्भीर रुपमा लिएको बताए । उनले प्रसारण लाइनबाट प्रभावित स्थानीयवासीलाई नियमानुसार मुआब्जा दिने र राष्ट्रिय गौरवको आयोजना भएकाले समस्याको समाधान छिटो निकाल्नुपर्ने बताए ।

आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्ड ४० किमी लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सवस्टेसन निर्माणका लागि रु दुई अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख घोषले जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी प्रसारण करिडोर आयोजनाको निर्माण हुन लागेको हो ।

आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सवस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ ।

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । रासस


क्लिकमान्डु