लोकसेवा आयोग भन्छ,- प्राविधिक विषयमा आवेदन नै पर्दैन



lok-sewa-aayog

काठमाडौं । लोकसेवा आयोगद्वारा निजामती कर्मचारीको पदपूर्तिका लागि माग गरेका केही पदमा कयौं गुणा बढी आवेदन परेपनि केही पदमा भने आवेदन दिनेको संख्या शून्य नै रहेको छ ।

आयोगले आवेदन माग गर्ने विभिन्न श्रेणी र पदका लागि कैयौँ गुणा बढी आवेदन परे पनि प्राविधिक तर्फका केही विषयमा भने पदपूर्तिका लागि दरखास्त नै नपर्ने गरेको हो ।

आयोगले आर्थिक वर्ष २०७२÷७३ मा एकसय २६ वटा विज्ञापनमा एकसय ७२ पदका लागि दर्खास्त दिनेको संख्या शून्य रहेको तथ्याङ्क अधिकृत सञ्जयकुमार चौधरीले जानकारी दिए ।

आयोगमा शाखा अधिकृत, नायब सुब्बा, खरिदार, महिला विकास निरीक्षकजस्ता पदमा सयौं गुणा आवेदन पर्ने गरेको छ । उनका अनुसार आवेदन शून्य हुनेमा स्वास्थ्य सेवा, इन्जिनियरिङ र राजपत्रअङ्कित द्वितीय श्रेणीका प्राविधिक पद रहेका छन् ।

आयोगकी सूचना अधिकारी गीता हुमागाईंले शैक्षिक योग्यता र मापदण्डका आधारमा योग्यता नपुग्दा आवेदन नपरेको बताइन् । अधिक स्वास्थ्य क्षेत्रका केही पदमा आवेदन नपर्ने समस्या छ । उनकाअनुसार ती पदमा शैक्षिक योग्यता पुगेपनि मापदण्ड नपुग्दा आवेदन नै पर्दैनन् ।

तथ्याङ्क अधिकृत चौधरीका अनुसार सबैभन्दा बढी प्राविधिकतर्फ राजपत्राङ्कित द्वितीय श्रेणीका ७२ विज्ञापनका एकसय १६ पदमा र स्वास्थ्यका ३९ विज्ञापनका ४५ पदमा आवेदन नपर्ने गरेका छन् । राजपत्राङ्कितमा इन्जिनियरिङ, कृषितर्फ भेटेरिनरी, वन, नापी समूहका रहेका छन् । यसरी आवेदन नपर्नेमा तीन पदबाहेक सबै आन्तरिक प्रतियोगिता हुने गरेको छ ।

आवेदन नदिनेमा खुलातर्फ राजपत्राङ्कित तृतीय श्रेणीको रेखा विशेषज्ञ, स्वास्थ्य तर्फका नवौँ श्रेणीका आयुर्वेद र ग्यास्ट्रोइन्टरोलोजी सर्जरी रहेका छन् । बाँकी एकसय ६९ पद सबै आन्तरिक प्रतियोगिताका पद रहेका छन् ।

चौधरीले राजपत्राङ्कित द्वितीय श्रेणीअन्तर्गत अमिन, सहायक महिला विकास निरीक्षक, फरेस्टरलगायत पदमा तल्लो पदमा कुनै उम्मेदवार नहुने कारण आन्तरिक प्रतियोगिताबाट पूर्ति हुने पदमा दर्खास्त नपर्ने गरेको बताए ।

आयोगले ती पदमा बर्सेनि विज्ञापन गरेपनि २०६९ देखि आवेदन नपर्ने गरेको चौधरीले बताए । ‘बर्षेनि विज्ञापन गरेपनि कुनै न कुनै पदमा दर्खास्त पर्दैनन ।’ इन्जिनियरिङ सेवातर्फ माइनिङ इन्जिनियरिङ, सिभिल एभिएसन इन्जिनियरिङ पदमा शैक्षिक योग्यताका कारण आवेदन नपर्ने गरेका हुन ।

तथ्याङ्क अधिकृत चौधरीले आन्तरिक प्रतियोगितामा पदपूर्ति हुने विज्ञापनमा कार्यालय सहयोगी मात्र पाउने व्यवस्था भएकाले योग्यता नपुग्दा आवेदन नै नपर्ने गरेको बताए ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रिता पोखरेलले मन्त्रालयले रिक्त दरबन्दी पठाएको आधारमा आफूहरुले विज्ञापनका लागि आयोग पठाउने गरेको बताइन् ।

‘मन्त्रालयले कर्मचारी चाहियो भनेर हामीलाई रिक्त दरबन्दी पठाउने गरेका छन्, अनि हामीले त्यही मागका आधारमा विज्ञापन गर्न आयोगलाई पठाउने गरेको उनले जानकारी दिइन् । रासस


क्लिकमान्डु