नेपाल-बङ्गलादेश व्यापारः आयातभन्दा निर्यात दोब्बर



nepal_bangaladesh

झापा । नेपालले काँकडभिट्टा–फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ ।

बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध नाका जोड्नेस्थल पारवहन मार्गको प्रयोग सुरु गरेको हो ।

आव २०५४/५५ देखि २०७२/७३ सम्म आइपुग्दा यस मार्गबाट ४२ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ बराबरको विभिन्न मालसामानको व्यापार भएको कडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम कम्पनीका प्रमुख यादवप्रसाद सिवाकोटीले जानकारी दिए ।

उक्त अवधिमा नेपालले २७ अर्ब ८४ करोड ६४ लाख २० हजार रुपैयाँ बराबरको सामान बङ्गलादेश निर्यात गरेको छ भने बङ्गलादेशबाट सोही मार्ग भएर १४ अर्ब ८४ करोड ३३ लाख रुपैयाँको सामान आयात गरेको छ ।

काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको प्रवेशमार्ग बङ्गलाबन्ध नाका पुग्न ५४ किलोमिटरको दुरी पार गर्नुपर्छ ।

नेपालले बङ्गलादेशतर्फ जडीबुटी, फलफूल, दाल, गहुँलगायत डाबर नेपालका उत्पादन निर्यात गर्दै आएको छ भने उताबाट कटन बेस्ट, सोलारका सामान, कच्चा जुट, जुस, चामललगायतका विभिन्न सामान आयात गर्दै आएको छ । दाल र गहुँको निर्यातमा नेपालले कटौती गरेको छ ।

नेपाल बङ्गलादेश चेम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बङ्गलादेशसँगको व्यापार बढाउन सकिने प्रशस्त सम्भावना भए पनि सरकारी तहबाट पहल न्यून भएको बताए । निर्माण सामग्रीको रुपमा प्रयोग हुने ढुङ्गा ठूलो मात्रामा नेपालबाट आयात गर्न बङ्गलादेशी व्यापारी इच्छुक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु