सार्कको चौतर्फि विकासका लागि बृहत्तर सहयोग अपरिहार्य: प्रधानमन्त्री प्रचण्ड



prachanda_pm

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य मुलुकबीच बृहत्तर सहयोग अपरिहार्य भएको बताएका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३१औँ वार्षिकोत्सव तथा सार्क बडापत्र दिवसका अवसरमा मंगलबार दिएको सन्देशमा उनले दक्षिण एसियालाई विकासमा रुपान्तरण गर्न सबै सदस्य मुलुकले आफ्नो प्रयास दोब्बर पार्नुपर्ने बताए ।

सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यस क्षेत्रका जनताको विकासका आकाङ्क्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्ने सुझाए । सार्कका विगतका निर्णय र प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा उनले जोड दिए ।

तीन दशक लामो क्षेत्रीय सहयोगको सार्कको यात्रा दक्षिण एसियामा गरिबी निवारण, शान्तिको प्राप्ति, स्थायित्व र समृद्धि भएको चर्चा गर्दै उनले तिनलाई हासिल गर्न सार्कले विभिन्न संयन्त्र र निकाय स्थापना गरेर काम गरिरहेको आफ्नो सन्देशमा उल्लेख गरे ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्– ‘सार्क मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न हामीले पुनःप्रतिबद्धता जाहेर गर्नुपर्छ । गरिबी, आतङ्कवाद, बेरोजगारी, अन्तर्देशीय अपराध र जलवायु परिवर्तन हाम्रा साझा चुनौती हुन् ।’

सार्कले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता र एकीकृत प्रयास अपरिहार्य भएको पनि उनले सन्देशमा भनेका छन् ।

सार्क दिवसका अवसरमा यसका आदर्श, सिद्धान्त, मूल्य र मान्यताप्रति नेपालको अटूट प्रतिबद्धता दोहो¥याउँदै सार्कको संस्थापक सदस्यका नाताले नेपालले काम गरिरहने बताए ।

दक्षिण एसियाली मुलुकका नागरिकप्रति हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता, पारस्परिक विश्वास, समझदारी, बान्धुत्व, सहयोग र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा विशेष जोड दिए छ ।

 


क्लिकमान्डु