भुक्तानी प्रणालीलाई सुचना प्रविधिसँग जोड्न ऐन बनाउदै राष्ट्र बैंक



nepal-rastra-bank

काठमाडौं । देशको भुक्तानी प्रणाली र प्रक्रियालाई सुचना प्रविधिसँग जोडेर सहज, भरपर्दाे र विश्वसनीय बनाउन नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि ऐन बनाउन लागेको छ ।

राष्ट्र बैंक ऐनको दफा १०३ मा गरिएको भुक्तानी, क्लियरिङ र सेटलमेन्ट सम्बन्धि ब्यवस्थामा टेकेर राष्ट्र बैंकले छुट्टै ऐन नै बनाउन लागेको हो ।

राष्ट्र बैंकले यसअघि नै भुक्तानी फछ्र्योट विभाग गठन गरिसकेको छ । सो विभागले ऐनको मस्यौदा बनाउन लागेको हो । ऐनको मस्यौदा आगामी चैत मसान्तभित्रमा तयार हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

यसअघि नै भुक्तानी तथा फछ्र्योट विनियमावली जारी भइसकेको छ । सुचना प्रविधिको बढ्दो प्रयोग र देशकै भुक्तानी प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेकोले विनियमावलीको आधारमा मात्रै अगाडि बढ्न नसक्ने भन्दै ऐन बनाउन लागिएको हो ।

ऐन आएपछि सुचना प्रविधिको प्रयोगवाट हुने इबैंकिङ, इपेमेन्ट, पेपरलेस पेमेन्ट जस्ता भुक्तानी प्रणालीको आधिकारिकता र प्रमाणिकताको विकास हुने राष्ट्र बैंकको भनाइ छ ।

ऐनले सरकारी तथा गैरसकारी सवै प्रकारका भुक्तानी प्रणालीको ब्यवस्थापन र नियमन गर्ने ब्यवस्था गर्नेछ ।

मस्यौदा समितिले अहिले सार्क क्षेत्रका ऐन र विनियमावलीमा भएको ब्यवस्था अध्ययन गरी नेपालको सन्दर्भमा उपयुक्त हुन सक्ने /नसक्ने विश्लेषण गरिरहेको छ । भारत सन् २००८/९ देखि नै रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) मा गएको छ । नेपाल पनि अब सोही बाटोमा जानको लागि यस्तो ऐनको आवश्यकता महसुस गरिएको हो ।


क्लिकमान्डु