आफ्नै स्याटलाइट राख्ने प्रक्रिया लम्बियो



quntam

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटलाइट जडानका लागि आह्वान गरेको ग्लोबल टेन्डरको समयावधि एक महिना थप गरेको छ ।

बोलपत्र आवेदन दिने समयावधि आगामी डिसेम्बर २१ सम्म थप गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । यसअघि प्राधिकरणले स्याटलाइट जडानका लागि नोभेम्बर २१ सम्मको अवधि तोकेको थियो ।

‘सो अवधिमा करिब ४ कम्पनीले स्याटलाइट जडानका लागि बोलपत्र पेस गरेका छन्, ‘धेरै कम्पनीहरुले स्याटलाइट जडानमा चासो देखाउँदै तयारीका लागि समय कम भएको भनेपछि समयावधि थप गरिएको हो,’ अर्यालले क्लिकमाण्डूसँग भने ।

जति धेरै कम्पनीबीच प्रतिस्पर्धा गरायो स्याटलाइट उतिनै बढी गुणस्तरीय हुने निष्कर्श निकाल्दै समयावधि थप गरेको हो । अर्यालका अनुसार अब डिसेम्बर २१ पछि बोलपत्र खुल्ला गरिनेछ ।

टेन्डर खुल्ला भएसँगै आवेदन फारम भर्ने कम्नीहरुको बोलकबोलकोमा उल्लेख गरेका विषयमाथि विस्तृत अध्ययन गरी कम्पनी छनोट गरिने छ ।

लामो सयमदेखि नेपालको आफ्नै स्याटेलाइट हुनुपर्ने आवाज उठ्दै आएपनि अहिलेसम्म यसले प्राथमिकता पाउन सकेको थिएन ।
प्राधिकरणले २ वटा ध्रुबीय स्लटका स्याटेलाइट राख्नका लागि टेन्डर आह्वान गरेको हो ।

नेपालले १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयररिङ ब्यान्ड अन्तर्गत ५ सय मेगाहर्जमा विभिन्न ब्यान्डहरु उपलब्ध हुने बताइएको छ । त्यस्तै ५० डिग्री देशान्तरमा १२ वटा च्यानलका ब्यान्डहरु उपलब्ध गराएको छ ।

नेपालको आफ्नै स्याटेलाइट भएपछि विभिन्न दूरसञ्चार सेवाबापत खतप हुने ब्यान्डविथ  किफायती हुने अर्यालले बताए ।

सन् २०१५ को अन्तिमसम्म विश्वभर ५८ वटा देश र २० वटा संस्थाहरुले आफ्नै स्वामित्वमा स्याटेलाइट सेवा सञ्चालन गरिसकेका छन् ।


क्लिकमान्डु