जनआन्दोलनका घाइतेलाई निःशुल्क सिम दिने एनटीसीको योजना फ्लप



ntc
५ मंसिर, काठमाडौं । केही समयअघि नेपाल टेलिकमले जनआन्दोलन ०६२÷६३ का घाइतेहरुलाई निःशुल्क सिम कार्ड दिने घोषणा गर्यो ।

टेलिकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत ०७३ साउन ३ गतेदेखि ०७३ माघ मसान्तसम्म जनआन्दोलनका घाइते एवं पूर्ण सारिरिक अपांगता भएकाहरुलाई निःशुल्क सिम तथा रिम दिने कार्यक्रम घोषणा गरेको थियो ।

तर अहिलेसम्म जनान्दोलनका घाइतेहरु टेलिकमले दिने निःशुल्क सिम लिन नआएपछि टेलिकमको सो कार्यक्रम फ्लप भएको छ ।
निःशुल्क सिम वितरण गर्ने कार्यक्रमले सोचेजस्तो सफलता नपाएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य बताउँछिन् ।

‘हामीले उहाँहरुको उल्लेख्य सहभागिता रहन्छ भन्ने विश्लेषण गरेर यो कार्यक्रम ल्याएका थियौं, राम्रै विज्ञापन पनि गर्यौं,’ बैद्यले क्लिकमाण्डूसँग भनिन्, ‘अहिलेसम्म फाट्टफुट्ट वितरण भएपनि त्यसको विवरण सार्वजानिक गर्न योग्य छैन ।’

टेलिकमले डाइरेक्ट वितरण गर्दा त्यो प्रभावकारी नभएकाले अब गृहमन्त्रालयमार्फत वितरण गर्नेगरी तयारी गरिरहेको उनले जानकारी दिइन् ।

जनआन्दोलनका घाइतेहरुले यसअघि नै टेलिकमको सिम चलाइरहेकाले नयाँ सिम लिन नचाहेको हुनसक्ने बैद्यको निष्कर्श छ ।

‘घाइतेहरुले पहिले नै सिम लिइसकेको हुनाले निःशुल्क सिम लिन नआएको हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भनिन्, ‘एउटा सिम भइसकेकाले अर्को सिन लिँदा नम्बर परिवर्तन हुने भएकाले यो योजनामा आकर्षण नभएको हुनसक्छ ।’

टेलिकमले नेपाल सरकारबाट जारी भएको घाइतेको परिचयपत्र सहित एकप्रति फोटो र नागरिकताको प्रमाणपत्रको फोटोकपी पेस गरेर निःशुल्क सिम लिनसक्ने जनाएको थियो ।


क्लिकमान्डु