सार्कमा लाग्दै आएको पोष्ट पेड फोनको रोमिङ शुल्क यसै वर्ष घटाइने



mobile_connection

३ मंसिर, काठमाडौं । पोष्ट पेड फोनका प्रयोगकर्ताहरुलाई खुसीको खबर । नेपाल दूरसञ्चार प्राधिकरणले सार्कमा लाग्दै आएको पोष्ट पेड फोनको रोमिङ शुल्क घटाउने गृहकार्य सुरु गरेको छ ।

लामो समयदेखि सार्कदेशबीच प्रिपेड र पोष्ट पेड मोवाइल सेवामा एकैदरको रोमिङ शुल्क तथा इन्टरकनेक्सन चार्ज लाग्दै आएको थियो ।
पोष्टपेड सेवामा यसको असर परेको भन्दै रोमिङ शुल्क घटाउने गृहकार्य अघि बढाइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले क्लिकमाण्डूलाई बताए ।

‘पोष्ट पेड मोवाइल फोनमा लाग्ने रोमिङ शुल्क कुन हदसम्म कम गर्न सकिन्छ भनेर अध्ययन गर्न परामर्शदाता छनोटको तयारी गरिरहेका छौं,’ अर्यालले भने, ‘चाँडै नै परामर्शदाता छनोट गरिने छ ।’

परामर्शदाताले बुझाएको प्रतिवदको आधारमा पोष्ट पेडमा लाग्दै आएको शुल्क कम गर्ने उनले बताए । चालू आर्थिक वर्षभित्रै पोष्ट पेडको रोमिङ शुल्क घटाइसक्ने प्राधिकरणले केही समयअघि सार्वजानिक गरेको वार्षिक कार्ययोजनामा उल्लेख छ ।

रोमङि शुल्क घटाउन प्राधिकरणले चालू आर्थिक वर्षका लागि १२ लाख रुपैयाँ बजेट विनियोजनसमेत गरिसकेको छ । परामर्शदाताका लागि २ लाख रुपैयाँ बजेट छुट्याएको छ भने परामर्शदाताबाट प्राप्त प्रतिवदन कार्यान्वयन गर्न १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।


क्लिकमान्डु