गाउँगाउँमा इन्टरनेट पुर्याउन यसैवर्ष ९१ करोड खर्च गरिँदै



man sitting near the globe with Laptop

३० कात्तिक, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गाउँगाउँमा इन्टरनेट सेवा विस्तार गर्न ९१ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

एनटीएले ब्रोडब्याण्ड मार्फत गाउँगाउँमा इन्टरनेट सेवा विस्तारका लागि सो रकम बराबर खर्च गर्ने वार्षिक कार्ययोजना नै बनाएर अघि बढेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरुले ग्रामिण दूरसञ्चार कोषमा जम्मा गरेको मोटो रकम खर्च हुन सकेको छैन । सोही खर्च हुन नसकेको रकम प्राधिकरणले गाउँगाउँमा इन्टरनेट सेवा पुर्याउन खर्च गर्न लागिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार प्राधिरकणले चालु आर्थिक वर्षमै कोषमा जम्मा भएको रकम मध्येबाट ९१ करोड ५० लाख रुपैयाँ खर्च गरेर ७ वटै प्रदेशमा रहेका गाविस, स्थास्थ्य चौकी, विद्यालय तथा अन्य सरकारी कार्यालयमा इन्टरनेट सेवा पुर्याउनका लागि आवश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने छ ।

‘ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच नपुगेसम्म सो क्षेत्रको विकास हुन सक्दैन’ प्रवक्ता अर्यालले भने, ‘त्यसैले यो आर्थिक वर्ष ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम ग्रामीण क्षेक्त्रमै इन्टरनेट सेवा पुर्याउनका लागि खर्च गर्दैछौ ।’

भूकम्प प्रभावित जिल्लामा मात्रै ३३ करोड

सो रकममध्येबाट भूकम्प प्रभावित जिल्लाहरुका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवाको पूर्वाधार निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च गरिने अर्यालले बताए । भूकम्प प्रभावित जिल्लाहरुमा ३ प्याकेजमा ब्रोडयाड इन्टरनेट सेवाको पूर्वाधार निर्माण सुरु गर्नै लागेको उनले जानकारी दिए ।


क्लिकमान्डु