४ अर्ब २५ करोड लगानीमा ३६ मेगावाटको ‘बलेफी ए’ निर्माण सुरु



balafi-a२८ कात्तिक, काठमाडौं । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको ‘बलेफी ए’ जलविद्युत् आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चार वटा बैंकको सहवित्तीयकरणमा ४ अर्ब २५ करोड लगानी गर्ने सम्झौता भएको छ ।

विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको हो । हुवानिङ डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक उमेश कसजुका अनुसार आयोजनामा ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोड, सानिमा बैंकले ९५ करोड, एभरेष्ट बैंकले ९५ करोड, एसबीआईले ७५ करोड र एनआडिसीले ५० करोड रुपैयाँ लगानी गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सिन्धुपाल्चोकको गोल्छे गाविसमा बाँध बाँधेर बलेफी खोलाको पानीलाई ४ हजार ३ सय मिटर लामो सुरुङमार्फत सोही गाविसको बैकुण्ठे भन्ने स्थानमा विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युतलाई २२ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सवस्टेसनमा जोडिनेछ ।

आयोजनाले जग्गा प्राप्ति एवम् पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको प्रबन्ध निर्देशक कसजुले जानकारी दिए ।

विद्युत् प्राधिकरणसँग बर्खायाममा ४ रुपैँया ८० पैसा र हिउँदमा ८ रुपैँया ४० पैसामा विद्युत् खरिद सम्झौता सम्पन्न गर्ने तयारीमा रहेको आयोजनाले स्थानीयबासीलाई न्यूनतम् १० प्रतिशत सेयर दिने जनाएको छ । आयोजनाको कुल लागत ६ अर्ब सात करोड रुपैयाँ रहेकामा बैंकले ४ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भए पनि प्रवद्र्धकले १ अर्ब ८२ करोड रुपैयाँ लगानी गर्नेछन् ।


क्लिकमान्डु