मंसिर १० देखि १५ मेगावाटको हेवाखोलाले विजुली उत्पादन गर्ने



hewa-khola-a२५ कात्तिक, काठमाडौं । पुर्वी पहाडी जिल्ला पाँचथरको ‘हेवाखोला–ए’ जलविद्युत आयोजनाले आगामी मंसिर १० गतेदेखि विजुली उत्पादन थाल्ने भएको छ । १४.९ मेगावाट कूल विद्युत उत्पादन क्षमताको यो आयोजनाले मंसिर १० गतेदेखि परिक्षण उत्पादन थाल्ने भएको हो ।

परिक्षण उत्पादन थालेको बढीमा तीन हप्ताभित्र व्यावसायिक विद्युत उत्पादन सुरु हुने आयोजनाका सञ्चालक बसन्त नेम्बाङले क्लिकमाण्डूलाई बताए ।

‘आयोजनाको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । मंसिर १० गतेदेखि परिक्षण उत्पादन सुरु गर्छौं,’ नेम्बाङले भने, ‘मंसिरभित्रै व्यावसायिक उत्पादन पनि सुरु हुनेछ ।’

आयोजनाका कूल विद्युत उत्पादन क्षमता १४.९ मेगावाट भएपनि सुख्खा याममा ९ मेगावाट मात्रै उत्पादन हुने नेम्बाङले बताए । यो आयोजना २०६८ सालदेखि निर्माण थालिएको थियो ।

गत असार मसान्तअघि नै आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको भएपनि भूकम्प, भारती नाकाबन्दी र नेपाल विद्युत प्राधिकरणले ट्रान्समिसनलाइन निर्माण गर्न ढिलाई गरेपनि प्रभावित भएको उनको भनाई छ ।

‘हमी त दुई महिनाअघि नै आयोजना निर्माण गर्न सक्थ्यौं तर प्रसारणलाइन नबन्दा उत्पादित बिजुली खेर जान्छ भनेर केही ढिला गरेका हौं,’ उनले भने । सञ्चालक नेम्बाङका अनुसार आयोजनाको चार किलोमिटर टनेल, बाँध, इलेक्ट्रोनिक जडान, विद्युत् गृहलगायतको काम सम्पन्न भइसकेको छ ।
आयोजना निर्माण गर्न २ अर्ब ४० करोड रुपैयाँ खर्च भएको उनले बताए । आयोजनामा सानिमा, माछापुच्छ्रे र इन्भेष्टमेन्ट बैंकको ऋण लगानी छ ।
नेपाल विद्युत प्राधिकरणले १३२ केभी क्षमताको प्रसारणलाइन निर्माण गरिरहेको छ । प्रसारणलाइनका पोलहरु गाडिइसकेका भएपनि तार भने टाँगिएको छैन ।

जिल्लाको याङ्नाम गाविसमा हेडबक्स र नाङ्गीन गाविसमा पावर हाउस छ । आयोजनाबाट उत्पादित विजुली अहिले ३३ केभीए क्षमताको प्रसारणलाइनबाट फिदिम सबस्टेशनसम्म उत्पादित बिजुली पु¥याइने छ ।


क्लिकमान्डु