गोप्रोले समस्याग्रस्त कर्मा ड्रोन फिर्ता लिने



go-pro-karma-returning-from-market
फोटो: गोप्रो डटकम

अमेरिकी एक्सन क्यामेरा उत्पादक गोप्रोले यही अक्टोबरमा सार्वजनिक गोप्रो कर्मा ड्रोन क्यामेरा बजारबाट फिर्ता लिने निर्णय गरेको छ । बिहिबार सार्वजनिक विज्ञप्‍तिमा क्यामेरा उडिरहेको समयमा एक्कासि बन्द हुने समस्या देखिएको हुनाले कम्पनीले यसका प्रयोगकर्ताबाट करिब २५०० क्यामेरा फिर्ता लैजाने निर्णय गरेको हो । प्रयोगकर्ताले आफूले खरिद गरेको स्टोरबाट ड्रोन फिर्ता गर्न सक्ने छन् र स्टोरले प्रयोगकर्ताको पुरा पैसा फिर्ता दिने छ ।

‘सुरक्षा नै आफ्नो प्रमुख प्राथमिकता हो’ गोप्रो प्रमुख कार्यकारी निकोलस वुडम्यानले बताए ।  आफ्ना उत्पादन  बजारबाट फिर्ता लिनु पर्दा प्रयोगकर्तामा परेको असरप्रति उसले दुख व्यक्त गरेको छ । उसले यही अक्टोबर २३ बाट यसको बिक्री सुरु गरेको थियो । सामसङजस्तो गोप्रोले आफ्ना अन्य ड्रोन क्यामेरासँग कर्मा साटफेरको भने सुविधा दिएको छैन । ‘समस्या समाधान पश्चात् मात्र कर्मा फेरी बजारमा जाने छ’  उसले भनेको छ  ।

वर्षको तेस्रो त्रैमासिकमा गोप्रोको बिक्रीमा व्यापक ह्रास आएको थियो । अमेरिकी स्टक एक्सचेन्ज नास्डकमा उसको कारोबार २१ प्रतिशतले गिरेको बेला यो निर्णय सार्वजनिक भएको हो । पछिल्लो ३ महिनामा उसले ८४ मिलियन अमेरिकी डलर गुमाएको छ जसमा कर्मा समेटिएको छैन । ड्रोन क्यामेरा उत्पादकमा गोप्रोसँग टक्‍कर दिन चिनियाँ कम्पनी डिजेआइको द म्यभिक प्रो, प्यारोट, थ्रीडी रोबोटिक्स, उब्सान, ब्लेड, युडीआरसि ट्वाइज, वाल्केरा आदि छन् ।

गोप्रोका सीमित प्रयोगकर्ता नेपालमा पनि रहेका छन् । उसले बेस्टबाइ डटकम र आफ्नो अधिकारिक वेबसाइट गोप्रो डटकममा फिर्ता गर्न तरिका सुझाएको छ । तर अनलाइन शपिंङ साइट इ-बेले भने यसलाई अझै पनि बिक्रीमा राखेको छ । यसको मूल्य ९९९ डलर रहेको छ ।


क्लिकमान्डु