चिनियाँ उत्पादक साओमीले ल्यायो वायुप्रदूषण रोक्ने मास्क



xiaomi-mask

चिनियाँ स्मार्टफोन उत्पादक साओमीले वायु प्रदूषणसंग जुध्ने मास्क सार्वजनिक गरेको छ । सार्वजनिक मास्कमा वायु सुद्धिकरण गर्ने फिल्टर रहेको छ । ब्याट्रीबाट चल्ने फिल्टरमा रहेको सानो पंखाले मास्कमा लगातार हावाको प्रबेस गर्न सहयोग गर्छ । सो पंखालाई चार्ज गर्न युएसबीको व्यवस्था गरिएको छ । साथै यसमा प्रयोग गरिएको जोड्न र निकाल्न मिल्ने विशेष प्रकारको फाइबरयुक्त कपडाले वातावरणमा रहेका २.५ माइक्रो मिटरसम्मका धुलोका कणलाई फिल्टर गर्न सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो समय चीन वायुप्रदूषणको उच्च जोखिममा रहेको छ ।  गत सेप्टेम्बरमा चीनमा प्रदूषणकै कारण सरकारले बेइजिङमा ४ दिन सार्वजनिक बिदा दिएको थियो । यता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले वायु प्रदूषणको सीमा उच्च रहेकाले यही नोभेम्बर ७ देखि ३ दिनसम्म दिल्लीका ५००० विद्यालयलाई बिदा दिन, ५ दिन निर्माण कार्य रोक्न र १० दिन कोइलाको प्रयोगमा रोक लगाएका छन् । अहिले भारतको राजधानी नयाँ दिल्ली, चीनको बेइजिङ, पाकिस्तानको कराची वायु प्रदूषण मापनको आधारमा संकटग्रस्त ठहरिएका छन् ।

विश्वबजारमा वायु प्रदूषण जटिल समस्या बन्दै गइरहेको बेला चिनियाँ उत्पादक साओमीका उत्पादनले बजारमा राम्रो कब्जा जमाउन सक्नेछन् । यसको मूल्य चीनमा ८९ युवान तोकिएको छ जसको मूल्य नेपालमा १४ सय देखि १५ सय सम्म हुनेछ । यो संगै उसले यही हप्ताभित्र ४ वटा अन्य उत्पादन पनि सार्वजनिक गरेको थियो । जसमा बोर्डरलेस डिस्प्ले सहितको एमआइ म्याक्स, पिस्टन प्रो इयर फोन, एमआइ पोर्टेबल माउस, ट्वाइ रोबोट रहेका छन् ।

 


क्लिकमान्डु