तीन गुणाले बढ्यो फेसबुकको कमाइ, ८४ प्रतिशत मोबाइलबाटै



लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको कमाइ पछिल्लो समय उल्लेख्य बृद्दी भएको छ । तीन महिनाको अवधिमै फेसबुकले करिब साढे दुई अर्ब नेपाली रूपैयाँ आम्दानी गरेको छ । अक्टोबर अगाडी तीन महिनाको आम्दानी सार्वजनिक गर्दै फेसबुकले अघिल्लो वर्षको भन्दा तीन गुणा बढेको बताएको छ ।

बृद्दी भएको कमाइमा सबैभन्दा बढि मोबाइल फोन मार्फत भएको फेसबुकले जनाएको छ । कुल आम्दानीको ८४ प्रतिशत कमाइ मोबाइमा फेसबुक प्रयोग गर्ने मार्फत भएको हो ।

कसरी गर्छ फेसबुकले कमाई?

फेसबुक प्रयोग गरे बापत साधारण प्रयोगकर्ताले कुनै शुल्क तिर्दैनन् । यसको आम्दानीको स्रोत भनेको व्यावसायिक र प्रवर्धनात्मक विज्ञापन नै हो । इन्टरनेटको विज्ञापन बजारमा सबैभन्दा ठूलो हिस्सा गुगलको छ । आफूलाई त्यसपछिको दोस्रो स्थानमा उभ्याउन फेसबुक सफल भएको छ । अर्को लोकप्रिय सामाजिक सञ्जाल ट्वीटर भने पर्याप्त विज्ञापन नपाएर निरन्तर घाटामा चलिरहेको छ ।

फेसबुकको लोकप्रियता सँगै अरू माध्यमको विज्ञापन बजार पनि यता मोडिएको छ । न्युयोर्क टाइम्स, डेली मेल, गार्डियन जस्ता चर्चित पत्रिकाका विज्ञापनमा आएको कमीले कर्मचारी र खर्च कटौतीमा लागेका छन् ।

अमेरिकी चुनावको लाभ

फेसबुकको कमाइमा पछिल्लो समय उल्लेख्य बृद्दी हुनुमा अमेरिकी राष्ट्रपतीको निर्वाचन पनि एक कारण रहेको विश्षलेशकहरू बताउँछन् । मतदातालाई आफ्नो पक्षमा पार्न निर्वाचनका प्रत्याशी उमेदवार र पार्टीले फेसबुक विज्ञापनमा ठूलो खर्च गरेका छन् ।

नेपालबाट पनि कमाउँछ फेसबुकले?

यति नै रकम भन्ने तथ्याङ्क नभएपनि नेपालबाट वार्षिक करोडौं विज्ञापन फेसबुक मार्फत हुन्छ । विज्ञापन गर्नेहरूमा व्यापारिक उत्पादन, अनलाइन प्लेटफर्महरू, राजनीतिक दल, र सर्वसाधारण सम्म पर्दछन् ।


क्लिकमान्डु