हेलो सरकार अब मोबाइल एपमा पनि



hello_sarkar

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वसाधारणको गुनासो संकलनका लागि मोबाइल एप पनि ल्याउने तयारी थालेको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला सुरू भएको ‘हेलो सरकार’ले सुरूमा टेलिफोनबाट गुनासो सङ्कलन सुरु गरेको थियो ।

कार्यालयले केही सातामै एप सार्वजनिक तयारी गरिरहेको हेलो सरकार शाखाका उपसचिव प्रद्युम्न उपाध्ययले जानकारी दिए । एपमा गुनासो, फोटो, भिडियो सोझै पठाउन सकिने उनले बताए । एप इलेक्ट्रोनिक्स विजनेस प्लस कम्पनीले तयारी गरिरहेको छ ।

एन्ड्रोइड मोबाइलका लागि तयार गरिएको उक्त एपमा सार्वजनिक विषयमा गुनासो गर्न र आफूले गरेको गुनासोको जवाफ माग्न कहाँ पठाइयो भनेर समेत हेर्न सकिने छ । गुनासो लेख्नका लागि एपमै विवरण भर्नुपर्छ साथै गुनासोको चलानी नम्बर ट्रयाक गरेर जवाफ समेत हेर्न सकिन्छ । एप आएपछि कार्यालयमा फोन गरेर गुनासो टिपाउने झन्झटबाट मुक्त भइने आशा उपसचिव उपाध्यायले गरे ।

पैसा नलाग्ने टोल फ्रि नम्बर, इमेल, एसएमएस, फेसबुक पेज र ट्यूटर एकाउन्ट हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था हाल सञ्चालनमा छन् ।


क्लिकमान्डु