नक्कली एटिम कार्ड बनाएर बुल्गेरियनले पैसा चोरे



atm_theft

काठमाडौं । एटिएम मेसिनबाट पैसा निकाल्दा पिन कोड र कार्डको नम्बर अरूले देख्ने गरी प्रयोग गर्नुहुन्छ भने साबधान! काठमाडौंमा अरूका कार्डका विवरण चोरेर नक्कली कार्ड बनाइ पैसा निकाल्ने घटना बढेका छन् । प्रहरीले बिहीवार ठमेलबाट एक बुल्गेरियन नागरिकलाई यस्तै अभियोगमा पक्राउ गरेको छ ।

३८ वर्षीय डिमो एटान्सोभ स्टेफनोभलाई २८ थान नक्कली एटिएम कार्ड र १७ हजार २ सय ५० अमेरिकी डलर, ५ सय युरो सहित प्रहरीले समातेको हो । ब्युरोले यसअघि २०७१ मङ्सिर १ गते टर्किस नागरिक, सोही वर्ष चैत ५ गते बुल्गेरियाली नागरिक र गत साउन १७ गते रोमानियाली नागरिकलाई नक्कली एटिएमको प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।

स्टेफनोभले एटिएम बुथमा प्रवेश गरी त्यहाँ गोप्य रुपमा सानो आकारको क्यामेरा फिट गरी ग्राहकले हानेको पिन कोड नम्बर पत्ता लगाई पुनःबुथमा गई रकम निकाल्ने नयाँशैलीको प्रयोग गर्ने गरेको प्रहरीके जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएमबाट अन्य ग्राहकको रकम निकालेको भेटिएपछि उनको खोजी सुरु भएको थियो । बैंकको ‘सिसिटिभी फुटेज’ को आधारमा उनको खोजी अगाडि बढाएको थियो । सोही क्रममा ठमेलको हिमालय बैंकबाट रकम निकाल्ने क्रममा ब्युरोको प्रहरी टोलीले स्टेफनोभलाई पक्राउ गरेको हो

।एक अस्ट्रेलियन नागरिकले नेपालमा एटिएमबाट रकम निकाल्न खोज्दा एटिएम अड्किएकोमा उनको खाताको ६ हजार डलर रकम बुल्गेरियाबाट निकालिएको घटनामा समेत स्टेफनोभकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु