माइक्रो बसको आफ्नै टीभी च्यानल!



yatra_in

काठमाडौं । सार्वजनिक यातायातमा हिन्दी सिनेमा हेर्दै वा दोहोरी गीत घन्काउँदै यात्रा गर्ने बानी पर्नु भएको छ भने अब तपाइलाई अनौठो लाग्न सक्छ । यात्रा र यात्रुहरूलाई मात्रै लक्षित गरेर केही यातायात समिति र कम्पनीले आफ्नै ‘टेलिभिजन च्यानल’ सञ्चालनमा ल्याएका छन् ।

एक महिना अगाडि काठमाडौं बीपी पूर्वाञ्चल समन्वय कम्पनीले सुरू गरेको टेलिभिजन च्यानल ‘यात्रा टीभी’ अहिले ७ वटा माइक्रो र ठूला बसका समितिले प्रशारण थालेका छन् । यी समितिका दैनिक ३ सय भन्दा बढि सवारी राजधानीबाट लामो दुरीका गन्तव्यका लागि छुट्छन् ।

यात्रा अवधिमा यात्रुले सूचना र मनोरञ्जन दुबै पाउन भनेर यस्तो च्यानल सुरु गरिएको हो भन्छन् – समन्वय कम्पनीका अध्यक्ष किरण कुमार रिजाल । ‘नयाँ प्रयोग सुरू गरेका हौं । छोटो अवधिमै राम्रो प्रतिक्रिया पाएका छौँ । – रिजालले भने ।

च्यानलका लागि कार्यक्रम उत्पादनको जिम्मा लिएको छ यात्रा मिडियाले । ‘नियमित टेलिभिजन र व्यावसायिक सिनेमा भन्दा फरक स्वादमा कार्यक्रम बनाएका छौं ।’ यात्रा मिडियाका निर्देशक लब प्याकुरेलले भने । ३ घन्टा लामो प्रशारणमा अहिले सूचनामुलक, गीत सङ्गीत र मनोरञ्जनका विभिन्न कार्यक्रमहरू समेटिएका छन् ।

यात्रामा दर्शकको मुड र आवश्यकता के हुन्छ भन्ने आधारमा कार्यक्रमहरू तयार भएको प्याकुरेलले क्लिकमाण्डुलाई बताए । च्यानलमा ट्राफिक नियम, चालक र सहचालकले गर्ने ब्यबहार, यात्रुले पालना गर्नुपर्ने नियम लगायत संदेशमुलक सामग्रीसँगै हास्य व्यङ्ग्य र संगीतलाई समेटिएको छ ।

च्यानलमा ट्राफिक नियम, चालक र सहचालकले गर्ने ब्यबहार, यात्रुले पालना गर्नुपर्ने नियम लगायत संदेशमुलक सामग्रीसँगै हास्य व्यङ्ग्य र सङ्गीतलाई समेटिएको छ ।

आफ्नै टिभी च्यानलले चालक र सहचालकलाई पनि फरक महसुस भएको छ । काठमाडौं-गाइघाट माइक्रोका चालक राजु न्यौपाने भन्छन् – रमाइलो पनि, आफ्नै क्षेत्रको बारेमा धेरै जानकारी पनि पाइएको छ । कार्यक्रमहरू यात्रामै लक्षित हुँदा यात्रुहरूले पनि चाँसो पूर्वक हेर्ने गरेको अनुभव छ उनको ।

७ वटै कम्पनीले च्यानल प्रसारणका लागि आफ्ना बसहरूलाई एलइडी टिभी उपलब्ध गराएका छन् । उत्पादित कार्यक्रम वितरणको तरिका भने केही झन्झटिलो छ । हार्ड ड्राईभ वा युएसबी ड्राईभमा नियमित वितरण गर्न भने सहज छैन् । तर, छिट्टै डेटा स्टेसनहरू बनाएर इन्टरनेट मार्फत कार्यक्रमहरू आवधिक गर्ने योजना रहेको प्याकुरेलले बताए ।

च्यानलको लोकप्रियता बढेपछि छिट्टै लामो दुरीका अन्य बसमा पनि प्रसारण बिस्तार गर्ने योजनामा रहेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु