‘आविष्कार केन्द्र बन्छ, म त झन् हौसिएको छु’
हामी किन पछि पर्यौं ? विकास किन भएन ? धेरैले राजनीतिलाई मात्र दोष थुपार्छन् । भूपरिवेष्टित देश भयो, बाँकी विश्वसँगको सम्बन्ध सहज भएन, अझ भनौँ भारतले विकासमा छेको हाल्यो, यस्तैले पछि परियो भन्ने तर्क पनि धेरै सुनिन्छ ।
४० वर्ष अगाडि फर्केर हेर्नुस् त नेपाल, कोरिया, मलेसिया, सिंगापुर, चीन हामी भन्दा कुनै हिसाबले अगाडि थिएनन् । आज ती देशमा कामको लागि हाम्रा नागरिक मरिमेटेर गइरहेका छन् । आखिर यी मुलुकले के गरे यस्तो जादु? तर्क त जे गरे पनि भयो । तर, तथ्य खोज्ने हो भने हामी पछि परेको कारण आफ्नै श्रम पूँजीलाई चिन्न नसकेर हो । आफ्नै क्षमता र सम्भावनालाई आँकलन गर्न नसकेर हो ।
खासमा यी मुलुकबाट सिक्नुपर्ने विकासको जादु के हो भने आफ्नो मानव पूँजीको सम्मान । त्यही मानव पूँजीलाई परिचालन गरेर विज्ञान, प्रविधि र अनुसन्धानमा उनीहरूले आँखा चिम्लेर, मन खोलेर लगानी गरे । आज त्यही लगानीको प्रतिफल पाएका छन् ।
हामीकहाँ विज्ञान प्रविधि मन्त्रालय सौताको छोरो जस्तो छ । सबैभन्दा हेपिएको । शिक्षा, स्वास्थ्य र सडकमा राज्यले जति लगानी गरिरहेको छ त्यतिकै प्राथमिकता विज्ञान प्रविधि क्षेत्रमा पनि हुनु पर्ने हो । त्यस्तो पटक्ककै छैन् । देशभित्रका प्रतिभा छानेर विज्ञान र अनुसन्धानमा कन्जुसाई नगरी लगानी गरिनु पर्थ्यो । हेर्नुस् त अरू देशले हाम्रा प्रतिभा किनेर, फकाएर लगिराखेका छन् । यस्ता प्रतिभा धेरै हुँदैनन् नि । हजारौंमा एक-दुई हुने हुन् । तिनलाई चिनेर राज्यले लगानी गर्नु पर्थ्यो, संरक्षण गर्नु पर्थ्यो ।
हामीकहाँ विज्ञान प्रविधि मन्त्रालय सौताको छोरो जस्तो छ । सबैभन्दा हेपिएको । शिक्षा, स्वास्थ्य र सडकमा राज्यले जति लगानी गरिरहेको छ त्यतिकै प्राथमिकता विज्ञान प्रविधि क्षेत्रमा पनि हुनु पर्ने हो । त्यस्तो पटक्ककै छैन् ।
यही अभाव महसुस गरेर हामीले राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा अगाडि सारेको हो । यसका लागि योजना बनेको छ । ५० करोड ‘सिड मनि’ बाट काम सुरू गर्ने । तर, यो रकम सिधै अनुसन्धानमा जाँदैन् । सिधै यति रकम खर्च गरे त दुई वर्षमै सकिन्छ नि । त्यसपछि के गर्ने? त्यसैले हामीले यो रकम नियमित आम्दानी हुने ठाउँमा लगानी गर्ने र आम्दानीबाट आएको रकम मात्र अनुसन्धानमा लगानी गर्ने सोच बनाएको हो । यसरी लामो समय टिक्न सकिन्छ ।
त्यसैले हामीले एउटा जलविद्दुत आयोजनाको योजना बनाएका छौं । आयोजनालाई नपुग्ने रकम बैंकबाट ऋण लिने हो । १० मेगावाटको एउटा आयोजनाले ३० देखि ४० करोड वार्षिक आम्दानी दिन सक्छ । यही आम्दानीलाई आविष्कार केन्द्र सञ्चालनमा खर्चिने हो । यसको संरचना पूर्ण स्वतन्त्र हुनु पर्छ । पहिलो कुरा यसको प्रशासन सञ्चालनमा हस्तक्षेप हुन भएन् । आर्थिक स्रोतमा पनि यसको परनिर्भरता हुनु भएन् । अहिले यसका लागि केही काम सुरु नै भइसकेको छ ।
आविष्कार केन्द्रले के गर्छ ?
भौतिक पूर्वाधार र ठूल-ठूला ल्याबको निर्माण बिस्तारै आवश्यकता अनुसार हुँदै जाने कुरा हुन् । सुरूवाती अवस्थामा हामीले सानो रकममै सम्पन्न हुने अनुसन्धान र आविष्कारमा लगानी गर्ने छौं । यो क्षेत्र मात्रै भन्ने त्यस्तो सीमा छैन् । विज्ञान प्रविधि मात्र नभएर साहित्य, कला, भाषा जस्ता विषयको अनुसन्धानमा पनि लगानी हुन्छ ।
ठूला होटलमा हुने कार्यक्रममा ‘प्रेजेन्ट’ गर्न तयार गरिने, रिसर्च जरनलमा छाप्न लक्षित खालको आविष्कार वा अनुसन्धान हैन यो । हाम्रो अवधारणाले युनिभर्सिटीको डिग्री हेर्दैन् । हामी त सिधै ‘प्रडक्ट’मा केन्द्रित हुने हो । के ‘प्रडक्ट’ आविष्कार हुन्छ र त्यसले हाम्रो मुलुकको विकासमा कसरी योगदान गर्छ भन्ने महत्वपूर्ण हो । चाहे त्यो सामान्य लेखपढ पनि नहुनेले गरेको किन नहोस् । हामी सर्टिफिकेटका पछि लाग्दैनौं ।
हामी त सिधै ‘प्रडक्ट’मा केन्द्रित हुने हो । के ‘प्रडक्ट’ आविष्कार हुन्छ र त्यसले हाम्रो मुलुकको विकासमा कसरी योगदान गर्छ भन्ने महत्वपूर्ण हो । चाहे त्यो सामान्य लेखपढ पनि नहुनेले गरेको किन नहोस् । हामी सर्टिफिकेटका पछि लाग्दैनौं ।
अनुसन्धानकर्ताले आविष्कार केन्द्रसँग काम गर्ने ४ चरण हुने छन् । पहिलो चरणमा परिकल्पना र योजनाको छनौट हुन्छ । छनौट समितिले विभिन्न मापदण्डका आधारमा यस्तो योजना छनौट गर्ने हो । उपयुक्त ठानेपछि प्रारम्भिक नमुना निर्माण (प्रोटोटाइप डेभलपमेन्ट)को काम हुन्छ । अनुसन्धानमा लाग्ने लागत र समय समितिले निर्धारण गर्छ । अनुसन्धानको चरणमा विशेषज्ञ सहयोग र अनुगमन कसले गर्छ भन्ने पनि समितिले नै टुँगो लगाउँछ । यसका लागि हामी विषेशज्ञहरूको डेटाबेस तयार गर्ने छौं ।
दोस्रो चरणमा ‘प्रडक्ट डेभलपमेन्ट’ मा पुगिन्छ । प्रडक्टको स्तर कायम गर्न, सुरक्षा र बजारमा प्रतिस्पर्धीको अवस्था हेरेर प्रडक्टको बजार जान योग्य नमुना निर्माण गर्नु पर्यो । यो चरणको खर्च पनि आविष्कार केन्द्रले नै बेहोर्छ ।
तेस्रो चरणमा तयार भएको उत्पादनको वैधानिक र कानुनी हैसियत पक्का गर्ने हो । टेडमार्क, प्रतिलिपि लगायत इन्टिलेक्चुवल राइट्सको ग्यारेन्टी नगरी बजार पठाउने कुरा भएन ।
चौथो चरण भनेको प्रडक्टको बजारीकरण हो । अनुसन्धानकर्ता र लगानीकर्ताको सम्बन्ध जोडिदिने काम केन्द्रले गर्ने छ । तर, केन्द्र आफैले उत्पादन वा व्यापार भने केही गर्दैन् । समग्रमा एउटा अनुसन्धानकर्ताले आफ्नो आविष्कारको चरणमा आर्थिक वा अरू झमेला भोग्न नपरोस् भनेर केन्द्रले लगानी गर्ने छ ।
सरकारको सहयोग पाइएन
अनुसन्धान वा आविष्कारमा गरेको लगानीले तत्काल नाफा कमाइने होइन । तत्काल नाफाकै लागि भए व्यापारीले लगानी गरी हाल्थे नि । यो व्यापार होइन । यो त कम्तीमा १५-२० वर्षमा विकासमा नतिजा देखिने कुरो हो । धेरै आविष्कारका प्रयास त असफल नै हुन्छन् । सफल हुने त १० प्रतिशत मात्र होला । त्यसैले यसमा हामीले सरकारको लगानीका लागि जोड दियौँ । सरकारी निकायमा मैले धेरै पहल गरेँ । तर, सफल हुन सकिएन ।
यसबारे धेरै चर्चा र बहस भए । कतिपयले निराशावादी कुरा गरे पनि देश-विदेश यति ठूलो साथ सहयोगका प्रतिबद्धता आएका छन् कि म त खूब हौसिएको छु । अब रकम सङ्कलन गर्ने भनेको जनताबाट हो, व्यक्ति-व्यक्तिबाट हो । थोपा थोपा जोडेर समुद्र बनाउने हो । अहिलेसम्म नगदमा ४५ लाख जति सङ्कलन भइसकेको छ । अरू खाले भौतिक सहयोग पनि आएको छ ।
अब रकम सङ्कलन गर्ने भनेको जनताबाट हो, व्यक्ति-व्यक्तिबाट हो । थोपा थोपा जोडेर समुद्र बनाउने हो । अहिलेसम्म नगदमा ४५ लाख जति सङ्कलन भइसकेको छ ।
म छक्क केमा परेको छु भने यो विज्ञान, प्रविधि, आविष्कार भन्ने कुरा सर्वसाधारणलाई बुझाउन गाह्रो हुन्छ होला भन्ने मेरो अनुमान गलत ठहरियो । अति सामान्य मान्छेले पनि अभियानमा सहयोग गर्छु भन्दै चन्दा दिइराख्नु भएको छ । यसबाट उत्साहित नहुने त कुरै भएन ।
देशव्यापी आविष्कार यात्रा
तिहार लगत्तै आविष्कार केन्द्रको आवश्यकताबारे सबैलाई बुझाउन र सहयोग सङ्कलन गर्न गाउँ गाउँसम्म पुग्ने हामी योजनामा छौँ । करिब ५ महिनासम्म अभियान लिएर हामी पूर्व मेची देखि पश्चिम महाकालीसम्मका गाउँ सहर पुग्ने तयारीमा लागेका छौँ ।
पुनसँग क्लिकमाण्डुका लागि प्रवेश सुवेदीले गरेको कुराकानीमा आधारित
तस्वीरहरू: राजन काफ्ले / क्लिकमाण्डु