सिंहदरबारका सिसी क्यामेरा: दिनभर सक्रिय रातभर निष्क्रिय



cctv-camera-on-poleदेशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सबै प्रवेशद्धार लगायत परिसर भित्रका विजुलीका खम्बाहरुमा आाखा लगाउनु भयो भने ‘तपाईर्ंलाई सीसी क्यामेराले हेरिरहेको छ ।’ भन्ने सुचना टाँस गरेको पाउनु हुन्छ । हुन पनि सुरक्षालाई दृष्टिगत गरेरै सिसी टीभी क्यामेरा (क्लोज सर्किट टेलिभिजन क्यामेरा) जडान गरिएको छ ।

तर यी सिसी टीभी क्यामेरा कति प्रभावकारी छन् भन्ने विषय सबैको चासो बन्दै गएको छ । महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारको मातहातमा रहेका सिसी टिभी क्यामेराहरू दिनभर सक्रिय र रात परेपछि निस्क्रिय हुने गरेको पाइएको छ । सिंहदरबारभित्र र बाहिरको गतिविधि नियाल्नका लागि जडान गरिएको सिसी टिभी क्यामेराले भर पर्दो काम गर्न नसकेको बताइन्छ ।

गृह मन्त्रालयका सुचना अधिकारी भविश्वर पाण्डेका अनुसार सिसी टिभी क्यामेरा उपयोगी भएपनि प्रभावकारीताका बारेमा प्रष्ट पार्न सकेनन् । ‘क्यामेरा हेर्ने जिम्मा प्रहरी युनिटलाई दिइएकाले उहाँहरुले सक्रियताका साथ सन्चालन गर्नुभएको छ ।’

महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारको प्रशासनिक शाखा रहेको भवनमा क्यामेराको रेकर्ड राख्ने कक्ष छ । त्यसबाहेक गृह मन्त्रालयको कन्ट्रोल रुम, नारायण दल गणले मनिटर गर्ने गर्छन् । तर यो दिनभर मात्र सक्रिय रहन्छ रात परेपछि रेकर्ड प्रभावकारी नभएको शाखाकै प्रहरीहरू स्विकार्छन् ।

सिसी टीभी क्यामेरा दिउँसो काम चलाउ रूपमा रहे पनि रातीको गतिविधि नियाल्नेका लागि गुणस्तरीय नभएको बताइन्छ । हाल सञ्चालनमा रहेका सिसी टिभी क्यामेरासँग ‘नाइटभिजन लाइट’को व्यवस्था छैन । जसका कारण रातको समयमा सीसी टिभी क्यामेरा प्रभावकारी हुन सकेको छैन् ।

सिंहदरबार परिसरमा हाल १८ वटा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । त्यसमध्ये कतिपय चट्याङ लागेकाले राम्रोसँग काम गर्न समेत सक्ने अवस्थामा छैनन् । १५ दिनको रेकर्ड रहने यहाँका क्यामेराहरू करिब ४ लाख रुपैंया बराबरका हुन् । सबै मन्त्रालयलको गेटमा सिसी टीभी क्यामेरा जडान गर्ने भनिए पनि अझै जडान हुन सकेको छैन ।


क्लिकमान्डु