महासंघ राजनीतिमा नयाँ ट्वीस्ट: पदाधिकारी बैठकले विशेष साधारणसभाको वैधानिकताको प्रश्न सोध्यो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले विधान संसोधन समितिसँग महासंघको विशेष साधारणसभाको कानूनी हैसियतको विषयमा प्रश्न उठाएको छ ।

शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकले महासंघले गर्न लागेको विशेष साधारणसभाको कानूनी विषयमा विधान संसोधन समितिसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षमा शुक्रबार बसेको पदाधिकारी बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका,बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र एशोसियट उपाध्यक्ष चन्द्र ढकाल उपस्थित थिए ।

विशिष्ट सदस्य तथा विधान संसोधन समितिका संयोजक चण्डी ढकाल तथा उपाध्यक्ष उमेश श्रेष्ठ र कोषाध्यक्ष निरक केसी भने उपस्थित थिएनन् ।

महासंघले विधान संसोधनका लागि आगामी कात्तिक २९ गते विशेष साधारणसभा बोलाएको छ । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघको बोलाएको विशेष साधारणसभा बोलाउने प्रक्रिया विधान अनुसार नभएको प्रश्न उठाएका थिए ।

पदाधिकारी बैठकले विशेष साधारणसभा प्रक्रिया अनुसार भए नभएको वैधानिकताको विषयमा विधान संसोधन समितिसँग लिखित जवाफ माग्ने निर्णय भएको महासंघका एक पदाधिकारीले बताए ।

‘लिखित जवाफ आएपछि स्थायी र कार्यकारिणी बैठकले थप निर्णय गर्ने छ,’ती पदाधिकारीले भने ।

महासंघको आगामी सोमबार स्थायी समितिको बैठक बस्ने र बुधबार कार्यकारिणी समितिको बैठक बस्ने छ ।

महासंघको विधान संसोधन गरेर यो पटकदेखि नै बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने प्रस्ताव हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ । जसको नेतृत्व विधान संसोधन समितिका संयोजक रहेका चण्डीराज ढकालले गरेका छन् । विधान संसोधन आवश्यक नभएको नेतृत्व पशुपति मुरारकाले गरेका छन् ।

महासंघका पूर्व अध्यक्षहरुले सामुहिक रुपमा शेखर गोल्छालाई अध्यक्ष बनाएपछि मात्र अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने सुझाव बुझाएका छन् ।


क्लिकमान्डु