‘भिसिटिएस प्रणाली र प्यान नम्बर अनिवार्य गर्दा महंगी बढ्यो’



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बजेट वक्तब्य मार्फत ल्याइएको भिसिटिएस प्रणाली र अनिवार्य प्यान नम्बर लगायत कारण महंगी बढेको जनाएको छ ।

चेम्बरका अनुसार भिसिटिएस प्रणाली र अनिवार्य प्यान नम्बरका कारण आपूर्ति कमी भएको र बजारमा मूल्य वृद्धि भएको चम्बरको ठहर छ । चेम्बरले बजारमा देखिएको दैनिक उपभोग्य मूल्यको आपूर्ति व्यवस्थापनमा देखिएको असहजता हटाउन सरकारलाई आग्रह समेत गरेको छ ।

आम उपभोक्तालाई प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नु पूर्व गहिरो अध्ययन नहुँदा सबैभन्दा ठूलो चाड दशैंको बेलामा उपभोक्ताले समस्या व्यहोर्नु परेको चेम्बरको धारणा छ ।

आयातित वस्तुहरुमा कारोबार मूल्यलाई मान्यता नदिइएको कारणले समेत हाल मूल्य वृद्धि भएको भन्दै कारोबार मुल्यलाई मान्यता दिन चेम्बरको सुझाव रहेको छ । यसबाट मूल्य वृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने चेम्बरको धारणा रहेको छ ।

‘अधिक भसार मुल्याङन, अधिक भन्सार दरबन्दी, कृषिजन्य वस्तुहरुको बजार मूल्य श्रृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएकोले त्यो अन्त्य गरिनु पर्छ’ चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेम्बरले सधै चाडपर्बको बेलामा मात्र नभई नियमित प्रक्रियाको रुपमा बजार अनुगमन गर्न समेत सरकारलाई सुझाएको छ । चाडपर्वमा मात्रै बिभिन्न निकायहरुबाट बजार अनुगमन हुने भएकोले अन्य समयमा अनुगमन नियमित नहुने कारणले समेत आपूर्ति व्यवस्थापनमा थप जटिलता भएको चेम्बरको ठहर छ ।

ठूला गाडीको निर्वाध प्रवेश सम्बन्धमा, हाल ट्राफिक जामको कारण ६ चक्केभन्दा ठूला ट्रकहरु काठमाडौं प्रवेशमा रोक लगाईएपछि दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा थप समस्या उत्पन्न भएर बजारमा उपभोग्य सामान सर्वसुलभ हुन नसकेको जनाइएको छ । चेम्बरले साँझ ६ बजेपछि त्यस्ता ढुवानीका साधनहरुलाई काठमाडौं प्रवेशमा निर्वाध भित्र्याउने व्यवस्था गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु