न्यूरोड र दरवारमार्गको जग्गाको मूल्य आनामा १० लाख बढ्यो, अब कति पुग्यो ?



काठमाडौं । एकवर्षको अवधीमा न्यूरोड र दरबारमार्गको जग्गाको मूल्य आनामा १० लाख रुपैयाँले बढेको छ ।

मालपोत कार्यालय डिल्लीबजारले साउन १ देखि लागु हुने गरेर न्यूरोड तथा दरवारमार्ग क्षेत्रको जग्गाको मूल्यांकन आनाको १० लाख रुपैयाँको दरले बढाएको हो ।

मालपोत कार्यालय डिल्लीबजारले सार्वजनिक गरेको जग्गाको न्यूनतम मूल्यांकन अनुसार ती क्षेत्रको जग्गाको सरकारी मूल्यांकन आनाको ६० लाख हो । देशभरमा सरकारी मूल्यांकन तथा कारोबारमा महंगो जग्गा पनि न्यूरोड र दरबारमार्ग क्षेत्र नै हो ।

कार्यालयले सरकारी मूल्यांकनमा आनाको ६० लाख तोकेका जग्गाहरुमा हनुमान ढोका नयाँ सडक, पुरानो नगरपालिका भवन,दक्षिण चोकबाट जुद्द शमशेर सालिक चोक,न्यूरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स हुँदै पुरानो नगरपालिका भवन चोक तथा खिचापोखरी धरहराको मुलसडकमा जोडिएका जग्गाको न्यूनतम मूल्यांकन आनाको ६० लाख छ ।

केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरु, हनूमानढोका जिल्ला प्रहरी कार्यालयपूर्व सूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसंग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकको दायांबायांको जग्गाको मूल्यांकन पनि आनाको ६० लाख छ ।

माइतिघर- सिंहदरबार पश्चिमगेट-पूतलीसडक-कृष्ण पाउरारोटी हात्तिसार- जयनेपाल- कान्तिपथ- जमल- दरबारमार्ग र घण्टाघर देखि कमलादी मोड सम्मका मूलसडकसंग जोडिएका जग्गाहरुको दाया बाया समेत आनाको ६०  लाख तोकिएको छ ।

जमल- रानीपोखरी वीर अस्पताल- नेपाल वायूसेवा निगम- गोश्वारा हूलाक- त्रिपूरेश्वर सम्मको मूलसडकसंग जोडिएका जग्गाहरुको दाया बाया आनाको ६० लाख तोकिएको छ ।

रत्नपार्क- पूरानो बसपार्क- शहीदगेट हुँदै सून्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका बाटोसँग जोडिएक जग्गाहरुको दायाँबाया जग्गाको न्यूनतम मूल्यांकन समेत ६० लाख तोकिएको छ ।

यो त सरकारी दर हो । यो क्षेत्रमा आनाकै २/३ करोड रुपैयाँसम्ममा जग्गाको किनबेच हुने गरेको छ । महत्वपूर्ण कुरा के हो भने यी क्षेत्रमा खाली जग्गा भेट्नै मुस्किल छ ।


क्लिकमान्डु